कास्कीबाट प्याराग्लाइडिङ खेलाडी छानिए

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कास्कीबाट प्याराग्लाइडिङ खेलाडी छनोट भएका छन् । नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ गण्डकीले खेलाडी छनोट गरेको जनाएको हो ।

संघका अध्यक्ष तथा प्रदेश खेलकुद परिषदका सदस्य वसन्तराज दवाडीका अनुसार नवौं राष्ट्रिय प्रतियोगिता प्रदेश स्तरीयका लागि २ छुट्टाछुट्टै इभेन्टका लागि खेलाडी छनोट गरिएको छ ।

जिल्ला खेलकुद विकास समिति कोषाध्यक्ष कञ्चन थापाले प्याराग्लाइडिङमा २ वैकल्पिक सहित महिला र पुरुष गरी १५ जनाको अन्तिम नामावली प्राप्त भएको बताइन् । छनोट हुन सफल मेन्स क्रस कन्ट्रीतर्फका खेलाडीमा विजय गौतम, युकेश गुरुङ, सुशील गुरुङ र शेरबहादुर गुरुङ छन् । सो इभेन्टमा आशीष थापा वैकल्पिक खेलाडीका रुपमा छानिएका छन् ।

मेन्स एकुररेसीतर्फ रिकी पोडे, सुमन थापा, अमित थापा, सागर नेपाली र हरि थापा छन् । सो इभेन्टमा विष्णु गौतम वैकल्पिकका खेलाडी छन् । यता, महिलातर्फको क्रस कन्ट्रीमा त्रिशा श्रेष्ठ र सुष्मिता सुनुवार तथा महिला एक्युरेसीमा कृषु पौडेल र रितु श्रेष्ठ छन् ।

छनोट भएका खेलाडीले भदौ १६ देखि १८ गते सम्म पोखरामा हुने प्रदेशस्तरीय छनोटमा सहभागिता जनाउने जिल्ला खेलकुदका कार्यालय प्रमुख प्रकाश बरालले जानकारी दिए ।