पोखराको नयाँबजारमा रहेको शिव सरस्वती मन्दिरमा शनिबार साँझ आरती गरिएको छ । मन्दिर परिसरमा नयाँ भवन र मन्दिर बनेपछि यहाँ नियमित कार्यक्रम हुन थालेका छन् ।
शनिबारको आरती कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापा, राधा थापा, मनलक्ष्मी थापा, ध्रुव थापा र मिलन थापाले सौजन्य गरेका हुन् । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघको महाधिवेशनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार हरिहर सापकोटाले मन्दिरलाई २५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने घोषणा गरे ।
समारोहमा मन्त्री थापाले मन्दिर निर्माण र समितिको कामले समाजमा सकारात्मक ऊर्जा थपिएको बताए । यस्ता गतिविधिले टोलबासीबीच एकता कायम भई समृद्ध समाज निर्माणमा टेवा पुग्ने उल्लेख गरे ।
सोही कार्यक्रममा मन्दिर र भवन निर्माणमा योगदान गरेकोमा प्रगतिशील नारी समूहले राधे श्रेष्ठ, शिव जिसी, वीरबहादुर गोदार र कल्पना थापालाई सम्मान गरेको थियो । कार्यक्रममा लायन्स क्लब अफ सेती गण्डकीले नारी समूहका सदस्यलाई दर खुवाएको छ । लायन्स ३२५ जेकी सेकेन्ड भिडिजी मिलन थापाको संयोजकत्वमा कार्यक्रम भएको हो ।
मन्दिरका अध्यक्ष राधा थापाको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन सचिव सुनिल पाण्डेले गरेका थिए ।







