फिस्टेलमा विद्यार्थीलाई स्वागत, आविष्कार केन्द्रलाइ १ लाख

पोखरा १७ तल्लो बिरौटामा अवस्थित फिस्टेल एकेडेमीले राष्ट्रिय आविष्कार केन्द्रलाई १ लाख रुपैयाँ सहयोगको घोषणा गरेको छ । एडेकेमीका संस्थापक चिनु रानाभाटले सामाजिक उत्तरदायित्व अन्तर्गत आफूले केन्द्रलाई सहयोग गरेको थोरै भए पनि यो सहयोग गर्न पाउँदा गौरवबोध भएको सुनाए ।

कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीलाई बुधबार स्वागत गर्ने क्रममा रानाभाटले आविष्कार केन्द्रलाई सहयोग घोषणा गरेका हुन् । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा. महावीर पुनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कक्षा १२ का विद्यार्थीले नवआगन्तुक विद्यार्थीलाई स्वागत गरे ।

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष पुनले किताबी पढाइमा मात्र भन्दा चुनौतीको सामना गर्दै पढाइलाई सिर्जना र अनुसन्धानमा केन्द्रित गर्न सुझाए । उनले पढ्न सजिलो भए पनि प्रतिस्पर्धात्मक आजको समयमा त्यसलाई व्यवहारमा उतार्न विशेष ध्यान दिनुपर्ने बताए । विद्यालयका संस्थापक रानाभाटले अन्तर्राष्ट्रिय सुविधासहितको प्रगतिशील शिक्षा प्रदान गर्ने आफ्नो ध्येय रहेको र त्यसैअनुरुप आफू लागिपरेको जनाए ।

विद्यालयका प्रिन्सिपल डा. त्रिदेव उपाध्याय, कक्षा १२ का विद्यार्थीहरु प्राप्ति लम्साल, शिशिर पौडेल र सिम्रन क्षेत्री, श्रेया गौतम र रचना गुरुङ, कक्षा ११ विज्ञान संकायमा भर्ना भएकी छात्रा स्नेहा तिमल्सिना लगायतले कार्यक्रममा बोलेका थिए ।

विभिन्न सांस्कृतिक प्रस्तुति रहेको सो कार्यक्रममा विद्यार्थीले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । प्रतिभा प्रदर्शनमा नव आगन्तुक विद्यार्थीमध्येबाट छात्रातर्फ विद्या र छात्रतर्फ निबोध उत्कृष्ट भए । उनीहरुलाई विद्यालयकी सह संस्थापक अन्जु बस्नेत रानाभाट र +२ संयोजक गीताञ्जली राठौरले ताज, ट्रफी प्रदान गरे । समारोहमा डा. सन्तोप सापकोटाले उत्प्रेरणात्मक मन्तव्य राखेका थिए । विद्यालयमा विज्ञान र व्यवस्थापन संकायमा कक्षा ११ र १२ को पढाइ हुन्छ ।