नेपाली महिलाको महान पर्व हरितालिका तीज २०७९ को अवसरमा पोखरा १ स्थित पुरानो टुडिँखेलमा तीजमेला हुने भएको छ । इन्द्रेणी एकीकृत विकास केन्द्रको आयोजना तथा सुरताल इभेन्ट एन्ड मल्टिमिडिया प्रालिको व्यवस्थापनमा हुने मेला भदौ १० देखि १६ भदौसम्म चल्नेछ ।
प्रवेश निशुल्क रहेको मेलामा मौलिक तीजगीत प्रतियोगिता, गृहणी नृत्य प्रतियोगिता, टपरी गास्ने प्रतियोगिता, गण्डकी प्रदेश स्तरीय छेलो प्रतियोगिता, विद्यालय स्तरीय नृत्य लगायतका हुने आयोजक केन्द्रका अध्यक्ष भानुभक्त अधिकारीले जानकारी दिए । मेलामा दैनिक उपभोग्य सामान, कृषि, हस्तकला, बैंक तथा वित्तीय संस्था, लत्ता कपडा, रेस्टुरेन्ट लगायतका विभिन्न स्टल राखिने छन् ।
मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुतिसँगै बाल उद्यानसमेत रहनेछ । नेपाली मौलिक कला र संस्कृति जगेर्ना गर्न केन्द्रले २ दशक अघिदेखि तीजगीत प्रतियोगिता गर्दै आएको छ । ३ वर्षअघि ०७६ सालमा पहिलो पटक तीजमेला आयोजना गरेको थियो । केरोनाका कारण गएको २ वर्ष हुन नसकेकोको मेलालाई यस वर्षदेखि निरन्तरता दिन लागिएको अधिकारीले सुनाए ।
केन्द्रले पोखरा १ स्थित गाईघाट क्षेत्रमा निर्माण गर्दै गरेको किरियापुत्री भवनलाई आर्थिक सहयोग जुटाउनु मेलाको मुख्य उद्देश्य हो । मेलालाई भव्य बनाउन केन्द्रले शनिबार वडामा रहेका विभिन्न संघ, संस्था, राजनीतिक दलका प्रतिनिधि, आमा समूह, क्लब, विभिन्न संघ, संस्थाको सहभागितामा भेला आयोजना ग¥यो । भेला सफल बनाउन सहभागीले सघाउने प्रतिवद्धता जनाएका छन् ।
पोखरा १ का वडा सदस्य रामजी पौडेलले यसलाई सफल पार्नु सम्पूर्ण वडाबासीको कर्तव्य भएको बताए ।






