स्वास्थ्यका दरबन्दी हेरफर नगर्न माग

नेपाल डेन्टल साइन्स हाइजिनिस्ट एसोसिएसन गण्डकी प्रदेश समितिले नेपाल सरकारले स्वास्थ्य संस्थामा बनाएको दरबन्दी विवरण हेरफेर नगर्न ध्यानाकर्षण गराएको छ । संस्थाका प्रदेश अध्यक्ष युवराज पौडेलको नेतृत्वमा गएको समूहले गण्डकी प्रदेशकी स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

पत्रको बोधार्थ मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, संघीय स्वास्थ्य मन्त्रालय, मुख्यमन्त्रीको कार्यालय र सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशलाई पनि दिइएको अध्यक्ष पौडेलले जानकारी दिए । सरोकारवालासँगको लामो छलफलपछि बनेको दरबन्दी संरचना परिवर्तन गर्नु किमार्थ उचित नहुने उनको भनाइ छ ।

दरबन्दी संरचनामा स्थानीय तहले चलाउने अस्पतालमा डेन्टल साइन्स हाइजिनिस्ट रहने उल्लेख छ । नेपालको संविधानमा रहेको स्वास्थ्यसम्बन्धी मौलिक हक कार्यान्वयन गर्न माग गर्दै संस्थाले आधिकारिक निकायमा अध्ययन गरी लामो समयदेखि काम गरिरहेको जनशक्तिलाई बाहिर राखेर स्वास्थ्य जनताको पहुँचमा पुग्न नसक्ने पौडेलले बताए ।