पोखराबारे लेखिएका सबै कविता एकै कृतिमा

पोखरालाई विषय बनाएर लेखिएका कविता अब एकै ठाउँमा पढ्न पाइने भएको छ । यो अवसर उच्च अदालत पोखराका कायम मुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्यले जुराइदिएका हुन् ।

०६८ मा जागिरको सिलसिलामा पोखरा रहँदादेखि आफूले संकलन गरेका र लेखेका कवितालाई एकीकृत रुप दिँदै आएका आचार्यले पुनः पोखरा सरुवा भएको अवसरमा काव्यरसमा पोखरा नाम दिएर उक्त कृविता संग्रहलाई आफ्नो जन्मदिन पारेर साउन ९ गते पोखरामा लोकार्पण गरेका हुन् ।

पोखरा महानगरपालिकाका नगर प्रमुख धनराज आचार्य, नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त र प्रतिष्ठानकै संस्थापक सदस्य सचिव तीर्थ श्रेष्ठले संयुक्त रुपमा कृति लोकार्पण गरे । महानगर प्रमुख धनराज आचार्यले न्याय क्षेत्रमा क्रियाशील व्यक्तिले पोखरालाई कर्म थलो बनाएका बेलामा गरिएको चिन्तन स्तूत्य र पोखराबारे लेखिएका सबै कविता एकै ठाउँमा पढ्ने अवसर मिलाएर ठूलो गुन लगाएको बताए ।

मेयर आचार्यले महानगरपालिका आउने पुस्तालाई हिजो देखाउन सक्ने गरी अगाडि बढिरहेको जानकारी पनि दिए । उनले भने, ‘काव्य रसमा पोखरा समालोचना गर्ने विषय होइन, पोखरालाई सबै हिसाबले सबल तुल्याउन, सबै बिम्बलाई प्रयोग गर्न हामी सबै लाग्न आवश्यक छ ।’ मेयर आचार्यले उलक परिवारले उहिलेको पोखरालाई फोटोग्राफीमार्फत् देखाइरहेका बेला डिल्लीराजको कविता कृति पनि आगामी पुस्ताका लागि नयाँ प्राप्ति हुने धारणा राखे ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले पोखराबारे लेखिएका कवितालाई यसरी लोकार्पण गर्न पाउँदा खुसी लागेको सुनाए । नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका संस्थापक सदस्य सचिव तीर्थ श्रेष्ठले आफूले ५० वर्ष पछिको पोखरा मोदी, मादी र आँधी बीचको पोखरा हुने आकलन गरेको बताए । श्रेष्ठले पोखरा सबैको मनको पोखरा भएकाले गण्डकी प्रदेशका जुनसुकै जिल्लाका व्यक्तिले स्थान चिनारी दिँदा पोखरा भन्न रुचाउने बताए ।

स्रष्टा डिल्लीराज आचार्यले पोखराको साहित्य, कला र संगीतका माध्यमबाट उल्लेख्य आयआर्जन गर्न सकिने भएकाले त्यतातर्फ पनि ध्यान दिन महानगरलाई सुझाए । स्रष्टा आचार्यले यो संस्करणमा भएका कमी, कमजोरीलाई सुधार्दै आगामी संस्करणलाई सघाउन पोखरावासीलाई आग्रह गरे ।

डा जगन्नाथ रेग्मीले कृतिमा २०१० को दशकदेखि ७८ सालसम्मका अग्रज, अनुज र समकालीन कविका कविता रहेकाले ग्रन्थ संग्रहणीय रहेको टिप्पणी गरे । एउटै कृतिमा पोखराबारे लेखिएका गद्य, पद्य दुवै संरचनाका रचनाले पाठकलाई कृति पठनीय बनाएको उनको धारणा थियो ।

कार्यक्रममा सगरमाथा आरोही अधिवक्ता विष्णु भुषाल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास गण्डकी अध्यक्ष दुर्गा शाह बाबा, दाङ पोखरा सम्पर्क समाजकी अध्यक्ष राधा केसी, मावनअधिकार पत्रकार संघ हुर्जा गण्डकीका अध्यक्ष असफल गौतम लगायतले बोलेका थिए ।

कार्यक्रमका लागि असम गुवाहाटीकी नेपाली भाषी साहित्यकार नीता गुरुङको तर्फबाट प्राप्त सम्मान तथा शुभकामना सन्देशसमेत सुनाइएको थियो भने दाङ पोखरा सम्पर्क समाजले स्रष्टा डिल्लीराज आचार्यलाई जन्मदिनको शुभकामनासहित सम्मान गरेको थियो ।