युनियन अध्यक्षमा अनिता, उपाध्यक्षमा राजबहादुर र ऋषिकान्तले उम्मेदवारी दिने

नेपाल प्रेस युनियनको ९ औ आसन्न महाधिवेशनमा अध्यक्ष पदमा अनिता बिन्दुले उम्मेदवार घोषणा गरेकी छन् ।

पोखरामा बुधबार आयोजित युनियन कास्कीको भेलामा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित युनियन कास्की एवं केन्द्रीय तहका नेतालाई साथमा राखेर उनले उम्मेदवारी घोषणा गरेकी हुन् ।

युनियनको पूर्व उपाध्यक्षसमेत भएकाले अब अध्यक्षका लागि मैदानमा होमिएको उनले बताइन् । विन्दुले कुनै समूह मिले समूहबाट नभए स्वतन्त्र रुपमा आफ्नो उम्मेदवारी रहने बताइन् । दुई दशकदेखि नेपाल टेलिभिजनमा कार्यरत उनको स्थायी घर स्याङ्जा हो ।

पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिमिल्सिना पगेनीले पदाधिकारीमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । हालका केन्द्रीय सदस्य ऋषिकान्त पौडेल र राजबहादुर गुरुङले पनि उपाध्यक्षमा उम्मेदवारी घोषणा गरे ।

पत्रकार महासंघ कास्की अध्यक्षसमेत रहेकी बिमला भण्डारीले पनि पदाधिकारीमै उम्मेदवारी दिने घोषणा गरेकी छन् । केन्द्रीय सदस्यका लागि रेम विक, परशुराम शर्मा लगायतले चाहना व्यक्त गरेका छन् । युनियनको महाधिवेशन आगामी साउन ६ र ७ गते हेटौडामा हुँदै छ ।