पोखरामा निर्माण भएको पर्यटकीय बसपार्क पर्यटन विभागले पोखरा उपत्यका नगर विकास समितिलाई हस्तान्तरण गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको कार्यक्रममा विभागले बुधबार समितिलाई बसपार्क हस्तान्तरण गरेको हो ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले पर्यटकीय सहर पोखरामा पर्यटकीय बसपार्क निर्माणले पर्यटकीय क्षेत्रमा पक्कै पनि उत्साह थप्ने अपेक्षा गरे । उपत्यका नगर विकास समिति र पोखरा महानगरले उक्त बसपार्कको सही उपयोग गर्नेमा आफू विश्वस्त रहेको उनले बताए ।
पोखरा महानगरका प्रमुख एवं पोखरा उपत्यका नगर विकास समिति अध्यक्ष धनराज आचार्यले १८ रोपनी क्षेत्रफलमा सुविधा सम्पन्न बसपार्क निर्माण गरी हस्तान्तरण गरेकोमा मन्त्रालय र पर्यटन विभागप्रति आभार प्रकट गरे । उनले पोखरा महानगरपालिकाले पर्यटनलाई पहिलो प्राथमिकतामा राखेको भन्दै यसका लागि संघीय सरकारको तर्फबाट थप सहयोग हुने अपेक्षा प्रकट गरे ।
बसपार्क निर्माणको जिम्मा पाएको निर्माण कम्पनी आशीष÷सिएम÷मिसन जेभीका डाइरेक्टर सान्तकुमार श्रेष्ठका अनुसार यो बसपार्कमा ४० पर्यटक बहाक बस आवतजावत गर्न सक्नेछन् । १० माइक्रो बस, २० ट्याक्सी पार्किङ गर्ने स्थल र केही कारसमेत राख्ने स्थल छ । बसपार्कको दक्षिण पूर्वबाट बस प्रवेश गर्ने र दक्षिण पश्चिमबाट बस बाहिरिने व्यवस्था छ । बसपार्कको पश्चिम र पूर्वी भागमा दुबैतर्फ १ सय ३० मिटर लामा नाला (ढल) निर्माण भएका छन् । बसपार्कको बीचमा आकर्षक आइल्यान्ड गार्डेन बनेको छ । जहाँ पर्यटक ओर्लिएपछि एकैछिन् उत्तरी हिमाल तर्फको सिन लिँदै तस्बिर खिच्न पाउनेछन् ।
डिभाइडरमा समेत फूल रोपेर आकर्षक बनाइनेछ । बसपार्कमा व्यवस्थित शौचालय, चमेना गृह लगायतका प्रयोजनका लागि भवन निर्माण भएको छ । पर्यटन विभागका निर्देशक तारानाथ अधिकारीका अनुसार ८ करोड ४५ लाख ८३ हजार रुपैयाँ लागतमा बसपार्क निर्माण भएको हो ।
आफ्नै स्वामित्वमै नआई निजी क्षेत्रलाई दिने सम्झौता भएको पर्यटकीय बसपार्क आज बल्ल नगर विकास मातहातमा आएको छ
पोखरा महानगर पालिका वडा नम्बर ७, राष्ट्रबैंक चोक नजिक निर्माण भएकोे आधुनिक पर्यटन बसपार्क निर्माणको सम्झौता २८ फागुन २०७५ मा भएको थियो । निर्माण कम्पनीका अनुसार २ असोज २०७७ भित्र बसपार्क निर्माण सम्पन्न भएर हस्तान्तरण गर्ने सम्झौता हो । तर, कोरोना संक्रमणका कारण निर्माणमा केही ढिलाइ भएको थियोे । बसपार्क ७ हजार ९ सय वर्गमिटरमा बनेको छ ।
पर्यटकीय राजधानी घोषणा प्रक्रियामा
गण्डकी प्रदेशको राजधानी पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणाका लागि पर्यटन मन्त्रालयले प्रक्रिया अगाडि बढाएको छ । पर्यटन मन्त्री जीवनराम श्रेष्ठले पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणाका लागि आगामी मन्त्रिपरिषद बैठकमा प्रस्ताव लैजाने तयारी गरेको जानकारी दिए ।
ध्यानाकर्षण गराउन मन्त्रालय पुगेका पोखरा महानगरका प्रमुख आचार्यलाई मन्त्री श्रेष्ठले यस्तो जानकारी दिएका हुन् । प्रमुख आचार्यले आफू र महानगरवासीले छिट्टै पर्यटकीय राजधानी घोषणा गर्ने संघीय सरकारको निर्णयको सुखद् जानकारी प्राप्त हुने अपेक्षा गरे ।






