रविले खोले राष्ट्रिय स्वतन्त्र पार्टी

पत्रकारिता छाडेर राजनीतिमा आएका रवि लामिछानेले नयाँ दल खोल्ने घोषणा गरेका छन् ।

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले अहिलेका राजनीतिक दलबाट परिवर्तन सम्भव नभएकाले नयाँ दल खोल्नुपरेको तर्क गरे । उनले पत्रकारका रुपमा विभिन्न दलका नेतालाई जिज्ञाशा राखेको स्मरण गर्दै त्यो जिज्ञाशा फरक रुपमा राख्ने जनाए ।

समानुपातिकमा मत आवश्यक भएकाले आफूले दल खोल्नुपरेको उनले दाबी गरे । आगो लिएर उठ्न चाहेकाहरुलाई एकतावद्ध गर्न खोजेको उनको भनाइ छ ।

उनले अरु पार्टीभन्दा यो पार्टी फरक हुने जिकिरे । प्रारम्भिक निर्वाचन गरी सदस्यबाटै उम्मेदवार छानिने लामिछानेले जनाए । पार्टीभित्रका सबै संरचनामा ५१ प्रतिशत युवा हुने छन् ।

लामिछानेले आफ्नो पार्टी प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्री बनाउने एजेन्डा लिएर जाने बताए । पार्टीमा राइट टु रिजेक्टको व्यवस्था हुने उनले सुनाए ।

उनले पार्टीमा ७ विशेषता हुने जनाए । डिजिटल्ली सदस्यता, परिवारवादलाई निषेध गरिने उनले बताए । उनले आफ्नो पार्टीमा कोही कार्यकर्ता र भातृ संगठन नहुने उनले प्रष्ट पारे । उनले पार्टीमा सदस्यमात्र हुने बताए ।