पर्यटन र विकासमा सहकार्य गर्दै पोखरा–भरतपुर

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र भरतपुर महानगर प्रमुख रेनु दाहालबीच भेटवार्ता भएको छ । आइतबार भरतपुर महानगरपालिका कार्यालयमा भएको भेटवार्तामा स्थानीय तहमा हुने असल अभ्यासको विषयमा छलफल भएको भेटवार्तामा सहभागी पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्यालले जानकारी दिए ।

दुई महानगरपालिकाका प्रमुखले भेटमा पर्यटन प्रवद्र्धन लगायतका विविध विषयमा मिलेर काम गर्ने प्रतिवद्धता जनाएका छन् । पोखरा महानगरपालिकाका प्रमुख आचार्यले पोखरा र भरतपुरबीच यसअघि नै भगिनी सम्बन्ध कायम भइसकेकाले राम्रा कार्यमा सहकार्य कायम रहने र अनुभव आदानप्रदान गर्नुपर्ने बताए ।
उनले पोखरा र भरतपुरकाबीचमा पर्यटन प्रवद्र्धन र विकास लगायतका विविध पक्षमा सहकार्य अनिवार्य रहेको उल्लेख गर्दै पोखरा आएका पर्यटकलाई भरतपुर र भरतपुर आएका पर्यटकलाई पोखरा आउन प्रेरित गर्ने गरी काम गर्नुपर्नेमा जोड दिए ।

प्रमुख आचार्य नेतृत्वको पोखरा महानगरपालिकाको ६ सदस्यीय टोलीले भरतपुर महानगरबाट हुने सेवा, अनलाइन प्रणाली, खरिद व्यवस्थापन, योजना लगायतका विषयमा जिज्ञासा राखेको थियो । भरतपुरका प्रमुख रेनु दाहालले पोखराका मेयरसहितको टोलीलाई स्वागत गर्दै पोखराबाट भरतपुर र भरतपुरबाट पोखराले एक अर्काका लागि सहयोगी भूमिका खेल्नुपर्ने बताइन् ।

भरतपुर महानगरको तर्फबाट प्रसाशकीय अधिकृत रामबन्धु सुवेदीसहित शाखा, महाशाखा प्रमुखले र पोखरा महानगरको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्यालले सहजीकरण गरेका थिए ।