स्याङ्जाको बहाकोटमा स्वास्थ्य शिविर

स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं. ८ बहाकोटमा शनिबार निशुल्क रगत तथा पाठेघरको मुखको क्यान्सरको निशुल्क परीक्षण भएको छ । दर्शन फाउन्डेसनको आयोजना तथा युनाइटेड रेफरेन्स ल्याबोरेटोरी (युआरएल) तथा जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाको प्राविधिक सहयोगमा कार्यक्रम भएको हो ।

शिविरमा ३ सयभन्दा बढीले स्वास्थ्य जाँच गराए । कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ फिजिसियन डा. कृष्णराज अधिकारीले रोग लाग्नै नदिनु सबैभन्दा उत्तम उपाय भएतापनि रोग लागिहाले पालेर राख्न नहुनेमा जोड दिए । उनले प्रायः नेपाली दैनिक खानपिनबारे गलत सोचाइका कारण बिरामी भएको र धेरैले समयसम्म उपचार नपाउने गरेको अनुभव सुनाए ।

युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले विभिन्न संघ, संस्थाको सहकार्यमा संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत यस खालका कार्यक्रम गर्दै आएको उल्लेख गरे । उनले प्रदेशको पहिलो र लोकप्रिय रेफरेन्स ल्याब भएकाले त्यसै अनुरुप प्रदेशभरी सेवा दिने गरी आफूहरु लागिपरेको उनको भनाइ छ ।

पत्रकार कृष्ण रानाभाटले फिजिसियन डाक्टरसहितको स्वास्थ्य परीक्षण गाउँमै हुँदा स्थानीयले सेवा पाउने बताए । कार्यक्रममा वडा कार्यालय, क्रान्तिदीप आमा समूह, क्रान्तिदीप युवा क्लब, बहाकोट स्वास्थ्यचौकी, बहाकोट कालिका एग्रो फर्म, धोवादी एग्रोले सहयोग गरकोमा प्रसंशापत्र प्रदान गरियो ।

दर्शन फाउन्डेसनका अध्यक्ष पितमबहादुर सेनको अध्यक्षतामा भएको कार्यक्रममा युआरएलका निर्देशक गणेशप्रसाद कोइराला, वडा सदस्य रवि सेन, श्रीनु बहाकोट माध्यमिक विद्यालयका प्रधानाध्यापक श्यामकुमार थापा, गौतम सिंह ठकुरी र फाउन्डेसनका सचिव मदन मल्ल छाँयाले बोलेका थिए ।