आमाको स्मृतिमा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) राष्ट्रिय कमिटी उपाध्यक्ष तथा गण्डकी प्रदेश सभा सदस्य मिना गुरुङले दिवंगत आमाहरु धनकुमारी र धनसुब्बा गुरुङको स्मृतिमा आइतबार श्रमिकका जेहेन्दार छोराछोरीलाई छात्रवृत्ति प्रदान गरेकी छन् ।

मिनाका श्रीमान् क्षेत्र र उनका दिदीबहिनी रुपा गुरुङ र रिता गुरुङ गौचनको उपस्थितिमा धनकुमारी र धनसुब्बा (डिकेडिएस) फाउन्डेशनले ४ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो । जिफन्ट गण्डकी प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रममा उत्कृष्टतर्फ श्रमिक सुनिता विककी छोरी अञ्जिला विक र मनु राईका छोरा प्रज्वल तामाङलाई जनही १० हजार ५ सहित स्टेसनरी र झोला प्रदान गरिएको जिफन्ट गण्डकी प्रदेश कमिटीका अध्यक्ष रुद्रबहादुर खत्रीले जानकारी दिए ।

सान्त्वनातर्फ श्रमिक दीपेन्द्र पौडेलका छोरा आयुष पौडेल र दुर्गा भुजेलका छोरा उत्सव गुरुङलाई जनही ५ हजारसहित स्कुल झोला र स्टेसनरी हस्तान्तरण गरिएको छ । अध्यक्ष खत्रीले ४ वर्षअघि स्थापना भएको फाउन्डेसनले सामुदायिक विद्यालयमा अध्ययन गरेर उत्कृष्ट अंक ल्याउने जिफन्टका सदस्यका छोराछोरीलाई छात्रवृत्ति प्रदान गर्दै आएको बताए ।

एमाले स्थायी समिति सदस्य किरण गुरुङले श्रमिकको हितमा काम नगरे समाजवाद स्थापना हुन नसक्ने तर्क गरे । उनले कम्युनिस्ट पार्टीले आधारभूत तहका जनता, श्रमिक र किसानको पक्षमा काम गर्ने उल्लेख गरे । गुरुङले एमालेले आर्थिक समृद्धि र दिगो विकासका लागि काम गरेको बताए । नेता गुरुङले नेपालको अर्थतन्त्र चलायमान भए मंहगी नियन्त्रण हुने दाबी गरे ।

स्थानीय तहको निर्वाचनमा केही स्थानमा घात अन्तर्घात भए पनि पार्टीका उम्मेदवार पराजित हुनुको मुल कारण गठबन्धन र पार्टीको विरुद्धमा भएको चौतर्फी घेराबन्दी भएको तर्क गरे । ‘अन्तरघात र असहयोगको सबाल आएको छ,’ उनले भने, ‘उम्मेदवार स्वयंको व्यक्तिगत कमजोरीसमेत हुन सक्छ । अन्तरघात गर्ने र उम्मेदवारको विगतको सम्बन्धको समीक्षा गर्नु पर्छ ।’ उनले समग्र चुनावको पार्टीले वस्तुनिष्ट समीक्षा गर्नुपर्ने धारणा राखे ।

जिफन्ट राष्ट्रिय कमिटी उपाध्यक्ष तथा गण्डकी प्रदेश सभा सदस्य मिना गुरुङले जिफन्टलाई परिवार ठानेर काम गरेको बताइन् । उनले ३ दिदी बहिनी मिलेर आर्थिक अवस्था कमजोर भएरका छोराछोरीलाई छात्रवृत्तिको व्यवस्था गरेको जानकारी दिइन् । कोभिड १९ का कारण धेरै श्रमिककले रोजगारी गुमाएको र छोराछोरीलाई पढाइ खर्च जुटाउन कठिनाइ भएको उल्लेख गर्दै उनले निस्वार्थ भावले सहयोग गर्ने जनाइन् ।

जिफन्ट गण्डकी प्रदेश कमिटीका अध्यक्ष रुद्रबहादेर खत्रीले स्थानीय तहले श्रमिकको पक्षमा देखिने गरी काम गर्न नसकेको गुनासो गरे । स्थानीय तहले श्रमिकको पञ्जीकरण तथा सूचिकरण गर्न नसेकेको उल्लेख गदै उनले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वयन हुन नसकेको चर्चा गरे ।

कार्यक्रममा जिफन्ट गण्डकी प्रदेश कमिटी उपाध्यक्ष लीलाबहादुर कार्की, सचिव राजेन्द्रप्रसाद पौडेल, सहसचिव संगीता पाण्डे लगायतले श्रमिकको पक्षमा बोलेका थिए ।