पोखरा १७ का निर्णयः हेल्प डेस्क, गर्भवतीलाई पोषण प्याकेज

पोखरा महानगरपालिका वडा नं. १७ का नवनिर्वाचित जनप्रतिनिधिले पदभार ग्रहण गरेका छन् । बिहीबार पदभार ग्रहण गर्दै वडाध्यक्ष राधिकाकुमारी शाही योगीले ३ निर्णय गरेकी छन् । सेवाग्राहीलाई आवश्यक प्रक्रिया, काम हुने स्थान, लाग्ने, समय, कागजपत्रबारे जानकारी दिन बिहीबारबाटै हेल्प डेस्क सुरु भएको छ ।

वडा कार्यालयले सहरी स्वास्थ्य केन्द्रमा नियमित चेकजाँच गराउने गर्भवती महिलालाई पोषण प्याकेज र अशक्त, असहाय र विपन्न वडाबासीको मोतियाबिन्दुको शल्यक्रिया सित्तैमा गरिदिने भएको छ । वडा कार्यालयको सिफारिसमा हिमालयन आँखा अस्पतालले त्यस्ता वडाबासीको सित्तैमा शल्यक्रिया गरिदिने वडाध्यक्ष शाहीले उल्लेख गरिन् ।

पदभार ग्रहणपछि आयोजित समारोहमा उनले कुनै पार्टीबाट विजेता भएको भए पनि आफू अब सबैको जनप्रतिनिधि भएर काम गर्ने प्रतिवद्धता गरिन् । उनले भनिन्, ‘कुनै दलको प्रतिनिधि भएर जितेँ । अब म तपाईहरु सबैको घोषणापत्र र मेरो घोषणापत्रलाई मागदर्शन मागेर वडावासीको सेवामा जुट्छु ।’

गएको कार्यकालमा धेरै ज्ञान र अनुभव सिकेको उल्लेख गर्दै उनले त्यो ज्ञान र अनुभवकै जगमा बाँकी काम पूरा गर्ने उनले उल्लेख गरिन् । पोखरा १७ मा शाहीसहित प्यानलै नेकपा एमालेले जितेको छ । वडा सदस्यमा शिवराम भण्डारी, विक्रम गुरुङ, तारा परियार र विष्णुकुमार थापा छन् ।

कार्यक्रममा नवनिर्वाचित वडा सदस्यहरुले अब आफूहरु साझा व्यक्तित्व भएर वडाको समृद्धिमा जुट्ने प्रण गर्दै राम्रा काममा साथ र कुनै गलत काम हुन लागे रचनात्मक खबरदारीको अपेक्षासमेत गरे । वडासचिव सुरेन्द्रप्रसाद शर्माले नागरिकको अपेक्षा अनुरुप वडाबाट काम हुन छुट्टै लेखापालको व्यवस्थाका लागि पहल गर्न आग्रह गरे ।

निवर्तमान वडाध्क्ष तीर्थराज अधिकारीले ५ वर्षको कार्यकालमा वडामा धेरै विकास, निर्माणका काम भएको उल्लेख गर्दै बाँकी काम पूरा गर्न नयाँ जनप्रतिनिधिलाई आग्रह गरे । कार्यक्रममा एमाले पोखरा १७ अध्यक्ष ऋषभ तिमिला, माओवादी केन्द्रबाट वडाध्यक्षका प्रत्यासी ओमबहादुर पौडेल, निवर्तमान वडा सदस्य बैकुण्ठ भण्डारी, कर्मचारी प्रमिला सुवेदी, ज्येष्ठ नागरिक मञ्च पोखरा १७ का अध्यक्ष टोपराज ढुंगाना लगायतले बोलेका थिए ।