मनको दियो ननिभ्नु तिमी तेल सधैंभरि थप्छु
सूर्य चन्द्र रहेसम्म बल्नु पर्छ पुग्ने गरी थप्छु।(पृष्ठ १)
मातृस्नेह यसरी पोखेकी छिन् गजलकार मनु शर्माले।पुत्र विगोगको छट्पटीमा लेखिएका गजलहरूले बरबरी आँसु झारेँ।
पढ्दापढ्दै अगाडि बढ्न निकै गाह्रो भयो। रुँदै भए पनि पढ्छु भनेर पुनः गजलसङ्ग्रह खोलेर हेरेँ।उनको यो कृति पढ्दा
जीवन भोगाइ र अनुभूतिको सङ्ग्रह नै रहेछ जस्तो लाग्यो । सरल भाषाशैलीमा गहन विचारको प्रस्तुति दिनसक्नु सायद समय ,परिस्थिति र जीवनमा भोगेका उतारचढावले नै होला । सबै दु:ख ,कष्ट ,पिर ,तनाव सहन र सुधार्न सकिन्छ,फर्काएर अनुकूल वातावरण बनाउन सकिन्छ तर सन्तान वियोग खप्न नसकिने पीडा हो र कहिल्यै नभेटिने र नमेटिने तिर्खा हो ।
मुटुको टुक्रा अर्कै संसारमा सर्यो र रोएँ
त्यो हाँसो फर्की आउने विश्वास मर्यो र रोएँ (पृष्ट ३७)
यस्तो दु:खान्त वेदनालाई करुण रस प्रदान गरेर मनु शर्माले आफ्नो कृति निकालेकी छिन् ।यस कृतिलाई नियाल्दा जीवनका उकाली ओराली ,निरस जिन्दगीका कथा,प्रेम ,घृणा ,विद्रोह ,विसङ्गति ,नारी आवाज ,सामाजिक र राजनीतिक विकृति साथै परिवर्तनको आवाजका मिश्रित सुसेलीहरू भेटिन्छन् ।
मनु शर्मा नारी अधिकार कर्मी पनि हुन् ।उनका रचनामा नारी अस्तित्वलाई संरक्षण गर्न नारीलाई नै आत्मबल प्रदान गर्ने महिला सशक्तीकरणका कुरा भेटिन्छन् ।उनी नारी शक्तिको खुलेर प्रशंसा गर्न पछि पर्दिनन्।नारीबिनाको संसार सूर्यबिनाको दिन जस्तै हो त्यसैले नारीलाई सकारात्मक प्रेम गर ,नारी नै प्रेमको खानी हो भन्ने भाव आफ्ना रचनामा उतारेकी छिन् ।नारीमाथि हुने गरेका अन्यायका चाङहरूमा यसरी आक्रोश पनि पोख्छिन्:
बलात्कारीलाई सजाय फाँसी दिए हुँदैन र सरकार
अपराधीको औजार नै मासिदिए हुँदैन र सरकार ( पृष्ट १४)
यी शब्दले न बालिका,न युवती न वृद्ध कोही पनि सुरक्षित नभएको र सरकारसँग न्यायको माग राखेका छन्।कडा सजायको नियम बनाउन सके सतर्कता अपनाउथे होला।
छोरा प्रभातको सम्झनामा अतालिएर वेदना मिश्रित शब्दहरू मनै चुँडाल्ने गरी लेख्ने शर्मा जिन्दगीलाई नजिकैबाट नियालेर यसो भन्छिन्:
कतिबेला चुडिन्छ खै तार जिन्दगीको
थाहा नभई हुँदो रैछ हार जिन्दगीको ।(पृष्ठ ९)
शर्माको मनको दियो गजलसङ्ग्रह आँसुले फुलाएको फूल हो।जतिसुकै कठोर मान्छे पनि पहरो झैँ रसाउँछ कृति पढेपछि ।उनको कृतिमा पुत्र वियोगको कथा त छ नै त्यसमाथि पनि जीवन भोगाइका असन्तुष्टि पनि त्यतिकै कारुणिक छन् ।मानव मनका चाहनाको अतृप्तिको पहाड पनि भेटिन्छ भने राष्ट्रप्रेमको भाव पनि उत्तिकै सघन रहेको छ।सिमाना मिचिएका कुरा,भ्रष्टाचारको विरोधको पनि चर्को आवाज यसरी दिएकी छिन् :
ऊ विध्वंसकारी हो गल्ती जानाजानी गर्छ
देश आफ्नो पेवा सम्झेर मनोमानी गर्छ।(पृष्ठ ७५)

शर्मा आफ्नो कृतिमा आफ्नो पहिचानको खोजी गरेकी छिन्।नाम पछाडि लेखिने थर जन्मको या कर्मको कुन हो त चिनारी र अस्तित्व कता जोगिन सक्छ भन्ने उनको प्रश्न रहेको छ। पितृसत्तात्मक सोचले नारीलाई माथि उठ्न दिएको छैन,यही कारण आफ्नैसँग उनको गुनासो रहेको छ।आफन्तहरू पनि अप्ठ्यारोमा हात छोड्दा रहेछन् भन्ने कुरा पनि उनका कृतिमा पाइन्छन्।माता र मातृभूमिप्रति पनि उनको समान श्रद्धा देखिन्छ।
द्वन्द्वकालले सिर्जना गरेका बालक,वृद्ध ,अपाङ्ग र महिलाका चित्कारहरू पनि गजलमा भेटिन्छन् ।पूरै सङ्ग्रह पढिसक्दा धेरै ठाउँमा वर्णविन्यासको कमजोरी पक्ष भेटिन्छ साथै गजलहरूको रखाइक्रममा अलिकति मिलाउन सकेको भए सुनमा सुगन्ध हुने थियो जस्तो लाग्यो।
समग्र पक्षलाई समेटेर तयार पारिएको यो कृति पढ्ने जो कोहीको मन पनि जित्न सक्ने छ। कुनै पनि सिद्धान्तको सीमामा नबसेर आफ्ना स्वतन्त्र भाव र विचारको विविध पक्षलाई गजलको विषय बनाएर मन छुने अनि भाषिक सरलतामा गजल लेख्ने पोखरेली नारी स्रष्टाको उज्ज्वल भविष्यको कामना गर्दछु। गजलकार मनु शर्माको मनको दियो प्रभात सुवेदीप्रति हार्दिक श्रद्धासुमन !!






