नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमक नगरपालिकाको प्रमुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) विजयी भएको छ । राप्रपाका तर्फबाट उम्मेदवार बनेका रामकुमार थापा नगर प्रमुखमा निर्वाचित भएका हुन् ।
उपप्रमुखमा नेपाली कांग्रेसबाट रेगिना भट्टराई निर्वाचित बनिन् । नगर प्रमुखमा निर्वाचित थापाले १७ हजार ५ सय २५ मत प्राप्त गर्दा प्रतिस्पर्धी एमालेको तर्फबाट उम्मेदवार बनेकी गीताकुमारी पौडेल अधिकारीले १७ हजार ७२ मत प्राप्त गरिन् । थापा र अधिकारीको मतान्तर ४ सय ५३ छ । अधिकारी विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा सोही नगरको उपप्रमुखमा निर्वाचित भएकी थिइन् ।
यता उपप्रमुख पदमा निर्वाचित भट्टराईले १६ हजार ९ सय ६६ मत प्राप्त गर्दा एमालेका उम्मेदवार अम्बिकाप्रसाद खनालले १६ हजार ५ सय ७४ मत प्राप्त गरे । उपप्रमुखमा भट्टराई र खनालको मतान्तर भने ३ सय ९२ छ । ५८ हजार १ सय ७६ मतदाता रहेको नगरमा १८ हजार ७ सय १६ पुरुष र २१ हजार १ सय ७९ महिला गरी ३९ हजार ८ सय ९५ जनाले मतदान गरेका थिए ।
दमक नगरपालिकामा राप्रापासँग गठबन्धन भएको थियो । जसमा कांग्रेसले प्रमुख पद राप्रपालाई दिएको थियो भने उपप्रमुख पद कांग्रेसले लिएको थियो । जसका कारण दुवै पद गठबन्धनले हात पारेको हो । वडातर्फ भने दमक–१ मा एमालेका तर्फबाट हरिप्रसाद न्यौपाने, २ मा एमालेकै प्रजापति सापकोटा, ३ मा एमालेका तर्फबाट नवीन बराल, ४ मा कांग्रेसका पुण्यप्रसाद दाहाल निर्वाचित भए ।
५ मा एमालेका इन्द्रबहादुर गुरुङ, ६ मा एमालेकै टेकबहादुर थापा, ७ मा राप्रपाका भीमप्रसाद पौडेल, ८ मा एमालेका धर्मप्रसाद दाहाल, ९ मा एमालेकै कुवेरप्रसाद भट्टराई र वडा नं १० मा कांग्रेसबाट राजेन्द्रप्रसाद भण्डारी निर्वाचित बने । दमकमा छ दलीय गठबन्धनबाट राप्रपाका थापालाई प्रमुखका साझा उम्मेदवार बनाइएको थियो । मतगणनाको सुरुदेखि नै दमकमा गठबन्धन र एमालेबीच कडा प्रतिष्पर्धा थियो ।




