भानुमा एमाले र गोविन्दराजको गठबन्धन हराउँदै कांग्रेसको वर्चश्व

तनहुँको भानु नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । शुक्रबार घोषित मत परिणामअ नुसार नगर प्रमुखमा आनन्दराज त्रिपाठी र उपप्रमुखमा उमा गोतामे चुनिए ।

त्रिपाठीले १२ हजार २ सय ५२ मत प्राप्त गरी विजयी हुादा प्रतिस्पर्धी नेकपा (एमाले)का सीताराम बजगाईंले ९ हजार ४३ मत प्राप्त गरेको निर्वाचन अधिकृत मीनबहादुर कुँवरले जानकारी दिए ।

उपप्रमुखमा गोतामे १० हजार ५ सय ४७ मत प्राप्त गरी विजयी बन्दा प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार केशरबहादुर गुरुङले ५ हजार ८ सय १७ मत प्राप्त गरे । ४० हजार ९ सय ६६ मतदाता रहेको भानुमा २५ हजार ५ सय ७२ मत खसेको थियो ।

१३ वडामध्ये कांग्रेसले ९, एमालेले २ र स्वतन्त्रले २ वडामा विजय हासिल गरेको छ । भानु १ को वडाध्यक्षमा कांग्रेसका कान्छीमाया तामाङ, वडा नं २ को अध्यक्षमा एमालेका केशव त्रिपाठी, ३ को अध्यक्षमा कांग्रेसका तुलकुमार गुरुङ, ४ को अध्यक्षमा कांग्रेसकै अर्जुनबहादुर बोहोरा, ५ को अध्यक्षमा कांग्रेसका नहकुल अधिकारी, ६ को अध्यक्षमा कांग्रेसका धीरेश खनाल चुनिएका छन् ।

७ को अध्यक्षमा कांग्रेसका खुमप्रसाद श्रेष्ठ, ८ को अध्यक्षमा कांग्रेसका ईश्वरबहादुर घिमिरे, ९ को अध्यक्षमा एमालेका मिन गुरुङ, १० को अध्यक्षमा कांग्रेसका हरिहर उप्रेती, ११ को अध्यक्षमा स्वतन्त्रका विमलराज जोशी, १२ को अध्यक्षमा कांग्रेसका बेलबहादुर अधिकारी र १३ को अध्यक्षमा स्वतन्त्रका कृष्णबहादुर अधिकारी विजयी बनेका छन् ।

जिल्लामा कांग्रेसका पुराना नेता गोविन्दराज जोशीको समूह र एमालेबीच चुनावी तालमेल भएको छ । जोशी समूहले ठाउँ ठाउँमा स्वतन्त्र उम्मेदवार उठाएको छ ।