डा ऋषिराज बराललाई गोकुल वाङ्मय पुरस्कार

प्रगतिवादी समालोचक एवं साहित्यकार डा ऋषिराज बराललाई गोकुल वाङ्मय पुरस्कारबाट सम्मान गरिने भएको छ । गण्डकी साहित्य संगमले स्थापना र सञ्चालन गर्ने यो पुरस्कारको राशि ४० हजार र सम्मानपत्र छ ।

डा बराल ४ दशकदेखि नेपाली साहित्यमा क्रियाशील छन् । सिन्धुलीको घोक्सिलामा जन्मिएका उनले विद्यावारिधिसम्म अध्ययन गरेका छन् । बरालल करिब डढ दर्जन साहित्य र समालोचनका कृति प्रकाशित छन् । संगमका सदस्य शोभाकान्त गौडेल संयोजक र नारायण परिश्रमी र देवेन्द्र लम्साल सदस्य रहेको प्रतिभा छनोट समितिले बराललाई पुरस्कृत गर्न सिफारिस गरेको हो ।

संगमले एक वर्ष गोकुल वाङ्मय पुरस्कार र अर्काे वर्ष गण्डकी वाङ्मय पुरस्कार प्रदान गर्ने गरेको छ । गोकुल वाङ्मय पुरस्कारबाट यसअघि केवलपुरे किसान, खगेन्द्र संग्रौला, गोविन्द भट्ट, श्यामप्रसाद शर्मा, रमेश विकल, निनु चापागाईं, चैतन्य, घनश्याम ढकाल, मोदनाथ प्रश्रित, हरिहर खनाल र जीवन शर्मा पुरस्कृत भइसकेका छन् ।

गण्डकी वाङ्मय पुरस्कारको राशि २० हजार छ । गण्डकी वाङ्मय पुरस्कारबाट यसअघि भेषजराज शर्मा, भाष्कर, दिल सहानी, कुलबहादुर केसी, नुमराज बराल, केदार शर्मा ढकाल, देवेन्द्र लम्साल, प्राडा रविलाल अधिकारी, पोषराज पौडेल, गोपिरमण उपाध्याय र रविकिरण निर्जीव र चिन्तु गिरी पुरस्कृत भइसकेका छन् ।

संगम अध्यक्ष डा. कृष्णराज अधिकारीले गोकुल जयन्तीको सन्दर्भमा यही जेठ ८ गते हुने समारोहमा पुरस्कार प्रदान गरिने जानकारी दिए । उनले नेपाली वाङ्मयमा अहिले रहेका अन्य पुरस्कारभन्दा यो पुरस्कार पृथक र विशिष्ट भएको बताए । उनले भने, ‘पुरस्कार स्थापना र साहित्यिक गतिविधिका लागि राज्यले सहयोग नगरे पनि जनस्तरबाट सहयोग जुटेको छ । यस्ता पुरस्कारको विशिष्ट महत्व र मूल्य छ ।’