एमाले जिल्ला अध्यक्ष पारस मेयरमा पराजित

माओवादी राजनीति हुँदै एमाले स्याङ्जाको अध्यक्ष बनेका सूर्यप्रसाद गैरे‘पारस’ले चुनाव हारेका छन्।

स्याङ्जाको गल्याङ नगरपालिकाबाट मेयरको प्रत्यासी रहेका उनी कांग्रेसका गुरुप्रसाद भट्टराईसँग ६९९ मतले पराजित भएका हुन्।

भट्टराईले ९ हजार ६२१ मत ल्याउँदा पारसले ८ हजार ९२२ मत प्राप्त गरे। पारस आफ्नै वडा नम्बर ९ मा पनि आफ्ना अध्यक्षका उम्मेदवार जिताउन असफल रहे।

सो वडामा कांग्रेसका नामदेव खनाल विजयी बने। २०७४ सालको चुनावमा गल्याङबाट एमालेका भूपराज अधिकारीले अत्यधिक मतले विजयी भएका थिए। पारसलाई हराउने भट्टराई चाहिँ नेपाल विद्यार्थी संघको राजनीतिबाट उदाएका हुन्। उनी हाल स्याङ्जा कांग्रेसको सचिव छन्।

२०७५ सालमा नेकपा बनेसँगै एमालेसँग घुलमिल भएका ‘पारस’ २०७७ साल फागुनमा एमाले र माओवादी विभाजन हुँदा एमालेमै बसेका थिए। रामबहादुर थापा ‘बादल’समूहका उनी एमालेको १० औं महाधिवेशनमा माओवादीतर्फबाट जिल्ला अध्यक्ष बन्ने पहिलो व्यक्ति थिए।

पुराना एमाले नेता नारायण मरासिनीलाई हराउँदै जिल्ला अध्यक्ष बनेसँगै उनी स्थानीय चुनावमा गल्याङको मेयरको प्रत्यासी बनेका थिए। १० औं महाधिवेशनमा अध्यक्ष बनेदेखि नै एमालेको एउटा पंक्ति पारससँग रुष्ट थियो।

गल्याङको उपमेयर पनि झिनो अर्थात् ६३ मतले नेपाली कांग्रेसकै हेमा न्यौपानेले जितेकी छन्। उनले ९ हजार ११८ मत ल्याउँदा प्रतिस्पर्धी एमालेकी देवी थापाले ९ हजार ५५ मत प्राप्त गरिन्।

११ वटा वडामध्ये गल्याङमा कांग्रेसले ६ वटामा विजय प्राप्त गरेको छ।