पालिकामा गठबन्धन, वडामा कुरा नमिल्दा मतपत्र च्यातियो

ओखलढुंगामा नेपाली कांग्रेसका कार्यकर्ताले मतपत्र च्यातेका छन् । जिल्लाको चिशंखुगढी गाउँपालिकाको वडा नम्बर ३ को वडा अध्यक्षका उम्मेदवारको मतपरिणाम बराबर आएपछि पुनः गणना गर्ने क्रममा कांग्रेसका कार्यकर्ताले २ वटा मतपत्र च्यातेका हुन् ।

कांग्रेसका जिल्ला सचिव राजकुमार ढुंगाना नेतृत्वका कांग्रेस कार्यकर्ताले मतपत्र च्यातेपछि मतगणस्थलमा तनाव सिर्जना भएको छ । मतपत्र च्यात्ने कांग्रेस सचिव ढुंगानासहितका कांग्रेस कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख सुकदेव खनालले बताए । थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

चिशंखुगढीमा माओवादी–कांग्रेसको तालमेल छ । पालिकामा गठबन्धन विजयी भईसकेको छ । वडानम्बर ३ मा माओवादी र कांग्रेसकै वडाअध्यक्षका उम्मेदवारको मत बराबरी आएपछि पुनः मतगणना गर्न थालिएको थियो ।