पत्रकार महासंघ गण्डकीका कोषाध्यक्ष न्यौपाने माथि कुटपिट

समाचार संकलनका लागि शहिद लखन गाउँपालिका १ स्थित बक्रेश्वरी माध्यमिक विद्यालयको मतदान केन्द्र पुग्नुभएका नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिका कोषाध्यक्ष राजेन्द्र न्यौपाने माथि कुटपिट भएको छ । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका कोषाध्यक्ष समेत रहेका न्यौपाने माथि शुक्रबार साँझ ४ : ५० बजे शहिद लखन गाउँपालिका वडा नम्बर १का वडाध्यक्ष दीपबहादुर केसी र उनका समर्थकले मतदान स्थलको फोटो खिचेको विषयलाई लिएर निर्घात कुटपिट गरेका हुन् ।

कुटपिटबाट घाइते पत्रकार न्यौपानेको हाल जिल्ला अस्पताल गोरखामा उपचार भइरहेको छ । यसैबीच आफ्ना कोषाध्यक्ष न्यौपाने माथि भएको कुटपिटको विषयलाई लिएर पत्रकार महासंघ गण्डकी प्रदेश समितिले विज्ञप्ति निकालेर केसीसहित कुटपिटमा संलग्न सबैलाई कानुनी कारबाहीका लागि माग गरेको छ ।

महासंघ गण्डकी प्रदेश समितिका महाचिव गोविन्द सुवेदीले जारी गरेको विज्ञप्तिमा पत्रकार माथि भएको उक्त घटनाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथि गम्भिर प्रहार गरेको भन्दै ‘….घाइते हुनुभएका कोषाध्यक्ष न्यौपानेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै कुटपिट गर्ने वडाध्यक्ष केसी सहित संलग्नलाई यथासीघ्र कानुनी कारबाहीको दायरामा ल्याउनसम्बन्धित निकायलाई आग्रह गर्दछ’ उल्लेख छ ।