जित्छु, पराजित भएछु भने पनि जनतासँगै हुन्छुः सोममाया

एकीकृत जनक्रान्तिको कार्यदिशा लिएर देशको मुहार परिवर्तन गर्ने सपना देख्नेहरु पनि अहिलेको स्थानीय चुनावमा सहभागी भएका छन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले निर्वाचन आयोगमा दल दर्ता गरेको छैन । दर्ता नभए पनि स्वतन्त्र उम्मेदवार ठाउँ ठाउँमा नेकपाले उठाएको छ ।

यही चुनावमा सहभागित लगायतका विषयमा विवाद भएपछि केही नेताले अलग पार्टीसमेत बनाएका छन् । विप्लव नेतृत्वको नेकपाबाट पोखरा महानगरमा मेयरमा किसानसिंह गुरुङ र उपमेयरमा सोममाया विश्वकर्मा उम्मेदवार छन् । उनीहरु चुनावचिह्न पुतली लिएर चुनावी प्रचारको अन्तिम चरणमा छन् ।
एमसिसी सम्झौता र राष्ट्रघातको विरोध गर्दै आफूहरु चुनावमा होमिएको सोममाया बताउँछिन् ।
भ्रष्टाचारमुक्त महानगर, सुशासन, सफा, सुन्दर पोखरा, कृषि, पर्यटन प्रवद्र्धन, बहुसंस्कृति संरक्षण जस्ता उनका एजेन्डा छन् ।

उनी भन्छिन्, ‘सिंगो पोखरा महानगर कार्यालयमै भ्रष्टाचार छ । मातहतका प्रत्येक वडा भ्रष्टाचारबाट मुक्त हुन सकेका छैनन् । महानगरवासीले सहज र सुलभ ढंगले त्यहाँबाट सेवा लिन सकिरहेका छैनन् ।’ उनले प्रविधियुक्त महानगर र वडा कार्यालयहरु बनाउने प्रतीज्ञा गरिन् ।

पोखरा ३२ खुदीखोलीका बासिन्दा सोममाया बुवा मनबहादुर वामपन्थी थिए । उनी बेपत्ता परिवारकी सदस्य हुन् । सोममायाका दाइ सोमबहादुर विक उर्फ कमरेड ज्योति ०५९ देखि बेपत्ता छन् । ०५४ बाट माओवादी आन्दोलनमा सरिक भएका ज्योति ०५६ बाट होलटाइमर बनेका थिए । खुदीखोला किनारामा भूमिहीनको बस्ती बसाउने अगुवामध्ये एक थिए ज्योति ।

०५९ असार २३ गते गिरफ्तार भएका दाइ बेपत्ता भएपछि ज्योतिकै पदचाप पछ्याउँदै उनी हिडिरहेकी छन् । यो यात्राम उनका धेरै सहयात्री छुटे, नेतृत्वहरु अलग बाटोमा पुगे । उनी भन्छिन्, ‘अरुले एजेन्डा भुले । हामी सहिद, बेपत्ताको सपना र जनताले देखेको राज्य स्थापना गर्न लागिरहेका छौं ।’
सोममायासँग महानगर सुधार्ने कार्ययोजना पनि छ । उनी भन्छिन्, ‘महानगरका कर्मचारीलाई दक्ष र सीपयुक्त बनाउनेतर्फ जोड दिनेछु । वडाहरुमा निकासा हुने बजेट वितरण न्यायपूर्ण छैन, कनिका छराई प्रवृत्ति छ । यसलाई सुधार्छु ।’

तालतलैया, धार्मिक तथा पुरातात्विक महत्व बोकेको ऐतिहासिक स्थल संरक्षण र सम्बद्र्धन गरी पर्यटकको आकर्षण थप बढाउने उनको योजना छ । पोखरामा अन्तर्राष्ट्रिय स्तरका बाटा, पूर्वाधार आदि बनाउने उनको योजना छ । महागरका विभिन्न स्थानमा रहेका भूमिहीन र अव्यवस्थित बस्तीहरुलाई सुविधासम्पन्न र पूर्वाधार युक्त बनाउने उनको वाचा छ ।

उनी भन्छिन्, ‘अव्यवस्थित सुकुम्बासीलाई व्यवस्थित गर्ने दायित्व राज्यकै हो । यसबाट राज्य पन्छिन मिल्दैन ।’ सम्बन्धित जातजाति स्थानीयको सहभागितामै यहाँको बहुसंस्कृतिलाई संरक्षण र प्रबद्र्धन गर्दै सुसंस्कृत समृद्ध सहर बनाउने उनको योजना छ ।
जनताका एजेन्डा उठाएकाले आफूले जित्ने उनी दाबी गर्छिन् । उनी थप्छिन्, ‘जनताको माग बोल्ने उम्मेदवारले नजितेर हुन्छ ? पराजित भएछु भने पनि म जनतासँगै हुन्छु ।’ उनले आफ्ना दुःखसुख बुझ्ने र आधुनिक पोखराको खाका कोर्न सक्ने उम्मेदवारलाई जिताउन मतदातालाई आग्रह गरिन् ।