मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुर हेटौँडाले मकवानपुरगढी गाउँपालिकाका सहायक निर्वाचन अधिकृत राजकुमार पुडासैनीलाई निर्वाचन आचारसंहिताविपरीत काम गरेको आरोपमा हटाएको छ ।
कार्यालयका अनुसार सहायक निर्वाचन अधिकृत पुडासैनी सामाजिक सञ्जालमा कुनै एक राजनीतिक पार्टीको प्रचारप्रसारमा प्रत्यक्ष संलग्न देखिएकाले उनलाई पदबाट हटाएको हो । उक्त पदबाट हटाइएको सम्बन्धमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले मकवानपुरगढी गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालयलाई जानकारी गराएको समेत बताइएको छ ।
मकवानपुरगढी गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालयबाट हटाइएको सो पदमा बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन अधिकृत मदन शिवाकोटीलाई पठाइएको छ ।






