मतदान केन्द्र भएका स्कुल ६ दिन बिदा

स्थानीय तहको चुनावमा ३ दिन विद्यालय बिदा हुने भएको छ । मतदान केन्द्र रहेका विद्यालय २८ गतेदेखि ३० गतेसम्म ३ दिन बन्द हुने भएका हुन् ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मतदान प्रयोजनका लागि विद्यालय भवन उपयोग गर्नुपर्ने भएकाले मतदानस्थल तथा मतदान केन्द्र तोकिएको विद्यालयहरुमा विद्यार्थीहरुको भौतिक उपस्थिति नगराउन आग्रह गरेको छ । सो अवधिमा विद्यार्थीलाई वैकल्पिक पद्धतिबाट पठनपाठनको व्यवस्था गर्न सबै शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिएसँगै विद्यालयमा पठनपाठन नहुने भएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पत्रानुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको पत्र बमोजिम आगामी ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मतदान तथा निर्वाचन सम्बन्धी व्यवस्थापकीय कार्य सञ्चालन गर्न विद्यालय बन्द गर्न निर्देशन दिइएको केन्द्रले जारी गरेको सूचनामा उल्लेख छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक वसन्तप्रसाद कोइरालाका अनुसार वैशाख २८ देखि ३० गतेसम्म विद्यालय बन्द हुनेछ । त्यसपछि पर्ने बिदाका कारण जेठ ३ गतेमात्र विद्यालय खुल्ने छन् ।