प्रविणा अधिकारी जनयुद्धताका हुर्केकी विद्यार्थी नेता हुन् । उनले माओवादी केन्द्रको तर्फबाट कास्कीको माछापुच्छ्रेमा उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी छन् । त्यति बेला कास्कीको माछापुच्छ्रे माओवादीको आधार इलाका थियो । लाहाचोकको उनको घर तत्कालीन माओवादी कार्यकर्ताको आश्रय स्थल थियो । थुप्रै कार्यकर्ताहरुको न्यानो र मायालु घर बनेको थियो उनको घर ।माक्र्सवाद र साम्यवादका थुप्रै छलफल हुने गर्थे उनको घरमा ।
उनी सानै थिइन् । सानै भए पनि जिज्ञासु थिइन् । नयाँहरु कुरा खोज्ने उनको स्वभाव थियो । मध्य रातमा घण्टौ हुने छलफलहरु बिस्तारामा पल्टेर सुन्थिन् । कहिलेकाँही कुरा सुन्दा सुन्दै छर्लङ्ग उज्यालो भएको थाहै हुदैनथ्यो । बिहान अनिदो आँखा मिच्दै स्कुल पढ्न जान्थिन् । महिला आन्दोलन, वर्गसंघर्ष, समानता जस्ता शब्दको वास्तविक अर्थ उनलाई थाहा थिएन । ती शब्दहरु भने कण्ठै थिए । उनले मनमै सोच्थिन् के भनेको होला । मैले पनि थाहा पाउन पाएँ ।
जनयुद्ध उत्कर्षमा पुग्दै थियो । उनको घर तत्कालीन सत्ताको नजरमा थियो । चारैतिर युद्धको भुमरी थियो । उनका बा आमा नै जनयुद्धमा लागेका थिए । सेना प्रहरीले दिनहुँ जसो धरपकड गर्न थाल्यो । बाबा, आमा घरमा बस्न सक्ने अवस्था भएन । बाबा आमा भूमिगत हुनुभयो । भाइ काखमै थियो । भाइलाई बोकेर आमा प्रहरीको आँखा छल्दै कहाँ कहाँ जानुहुन्थो । बुबा पाटीको काममा भुमिगत भएर हिड्नु भएको थियो । उनी सँग घरमा बहिनी प्रतिमामात्रै थिइन् ।
प्रविना आफै सानी थिइन् । सानैमा झन् सानी बहिनीलाई फकाएर, पकाएर खुवाउनु उनको काम थियो । दुबै दिदीबहिनी भित्रभित्र रोएर पनि बाहिर आँसु नदेखाइकन बाबाआमाको बाटो हेर्दै बस्थे । मनै त हो कहिलेकाही भक्कानिन्छ । आत्तिन्छ ।बहिनी बाआमालाई सम्झेर रुन्थिन् । आमाका पुराना कपडा सुस्मुमाउँदै बस्थिन् ।ब हिनी रोएको देखेर दिदीको मन भक्कानिन्थ्यो ।
बहिनीको अघि उनी कडा बन्न खोज्थिन् । बहिनीलाई थर्काए जस्तो गरेर सम्झाउथिन् । तर दिदीको मन झन भक्कानिथ्यो ।बहिनीले नदेख्ने गरेर घर पछाडि रुन्थिन् । त्यस्ता कहालीलाग्दा दिनहरुको बयान गरेर साध्य पनि छैन।
घरमा नून, तेल सकिन्थ्यो । मसला सकिन्थ्यो । कहिलेकाही गर्जो टार्न निकै आपत हुन्थ्यो । साथमा पैसो हुँदैनथ्यो । आमाले कुनै कामलाई किनेको भेली थियो । त्यही भेलीको पुस्टकारी बनाएर साथीहरूलाई बेचेर उनी घर खर्च चलाउथिन् । जस्तोसुकै कठिन परिस्थिति झेल्दै अगि बढे दिदीबहिनी ।
जीवन र जगतको यथार्थ बोध गर्ने क्रममा । आफ्नै घरमा राजनीतीक सस्कार सिक्दै । सानैमा माओवादीका आन्तरिक कामहरुमा सहभागी हुँदै कक्षा सात पढ्दा नै अनेरास्ववियु क्रान्तिकारीको इकाई कमिटी अध्यक्षसमेत भइन् । त्यहीँदेखि उनको राजनीतिक यात्रा शुरु भयो । स्कुलदेखि कलेजसम्मका यात्राहरु कहिँकतै विचलित नभई आन्दोलनमा लागिन ।
राजनीतिसँगै आफ्नो अध्ययनलाई पनि अगाडि लगिन् । अग्रेजीमा स्नातकोत्तर , कानुन र समाजसास्त्रमा स्नातक गरिसकेकी छन् ।

राजनीति र साँस्कृतिक क्रान्तिबिना समाज रुपान्तरण सम्भव छैन भन्दै सानै उमेरमा राजनीतिमा होमीएकी योद्धा प्रविना माछापुच्छ्रे गाप कास्कीको उपाध्यक्ष पदमा आफूलाई जिताउन जनताको घर दैलोमा ब्यस्त छिन् ।
भासणमा भन्दा काममा विश्वास गर्नु पर्छ भन्दै आफ्ना पालिकाका प्रत्येक वडा वडामा जनताको गुनासो र समस्या सुन्दै घुम्दै छिन् । अखिल क्रान्तिकारीकी वर्तमान उपाध्यक्ष उनी पार्टीको गण्डकी प्रदेश सदस्य पनि हुन् । राजनीतिमा बेइमानीको खेती मौलाएको बेला आफ्नो पालिकालाई नमुना पालिका बनाउन उनले थुप्रै सपना बुनेकी छन् । शोषित, पीडित र अन्यायमा परेकाको आवाज बुलन्द पार्न मेरो उमेदवारी भन्दै चुनावी माहोलमा जुटेकी छन् । उनी भन्छिन, ‘मेरो उदेश्य नै मेरो पालिकामा सामाजिक, साँस्कृतिक परिवर्तन गर्दै जनताको जीवन स्तर सुधार्नु हो ।न्याय हेर्न माछापुच्छ्रे जाउँ भन्ने भनाईलाई स्थापित गर्नु हो।’






