अनुभवी र सफल उम्मेवारको जित पक्का छः अधिकारी

नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं संगठन विभाग प्रमुख खगराज अधिकारीले स्थानीय तहको निर्वाचनमा नेकपा एमालेलाई अत्यधिक मतका साथ जिताउन आग्रह गरेका छन् । एमाले पोखरा ३१ ले शुक्रबार बेगनासताल मोहोरीयामा मेयर र उपमेयरका उम्मेदवार परिचयसहित आयोजना गरेको आमसभामा अधिकारीले देशको समृद्धि र विकासका लागि नेकपा एमालेको विकल्प नभएको दाबी गरे ।

उनले एमालेले यस पटक अनुभवी र सफल व्यक्तित्व कृष्ण थापालाई मेयर र देशकै सफल उपमेयर मञ्जुदेवी गुरुङलाई उपमेयरको उम्मेदवार बनाएकाले जित निश्चित भएको जनाए । अधिकारीले एमालेको नेतृत्वमा नै वडाभित्र शिक्षा, स्वास्थ्य र खानेपानी जस्ता क्षेत्रमा उल्लेखनीय काम भएको जनाए ।

मेयर उम्मेदवार कृष्ण थापाले लेखनाथ क्षेत्रलाई आफूले प्राथमिकताका साथ हेरेको भन्दै कम्तीमा पनि हप्ताको २ लेखनाथ क्षेत्रमा नै आएर काम गर्ने प्रतिवद्धता गरे । उनले भने, ‘लेखनाथतिर मेयर र उपमेयरका उम्मेदवार दुबै पारीका भए। यतालाई हेर्दैनन् कि भन्ने गुनासो पनि छ । म सबै ठाउँलाई समान रुपमा विकास गर्ने प्रतिबद्धता बोकेर आएको छु ।’ उनले कम्तीमा हप्ताको २ यसै क्षेत्रमा आएर सेवा दिने वाचा गरे ।

बेगनासताल र फेवातालबीच पर्यटकीय रुपमा जोड्न यातायातको सहज र द्रूत सेवा पनि आफ्नो योजनामा रहेको थापाले खुलाए । एमालेकै पालामा तालचोक बेगनासताल सडकलाई ४ लेनको बनाउने कामको टेन्डर भइसकेकाले छिटै काम सुरु हुने बताए ।

उपमेयर उम्मेदवार मञ्जुदेवी गुरुङले विभिन्न अप्ठेराका बीच पनि गएको ५ वर्षमा एमाले नेतृत्वको महानगर टिमले सम्झन लायक धेरै काम गरेको दाबी गरिन् । ‘सुरुका १ वर्ष स्थानीय तहको कानुन नै नभएकाले कानुन बनाउनमा नै खर्च भयो । यो बीचमा धेरै कानुन बनाइएका छन् ।’ उनले धेरै सडक कालोपत्रे भएको र वडा कार्यलयहरु निर्माणमा पनि धेरै प्रगति भएको जनाइन् ।

पोखरा ३१ का केही सडकलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने आवश्यकता आफूहरुले देखेको उनको भनाइ छ । पोखरा ३१ का लागि एमालेबाट वडाध्यक्ष पदका उम्मेदवार चिरञ्जीवी बञ्जराले पोखरा ३१ मा मतदाताको उत्साहजनक प्रतिक्रिया पाइरहेको र आफ्नो टिमले जित्नेमा ढुक्क रहेको सुनाइन् ।

नेकपा एमाले पोखरा ३१ ले पुरानो बिरासत जोगाउने लक्ष्यसहित आमसभा, कोणसभा, मतदाता भेटघाट एवं घरदैलो कार्यक्रमलाई जारी राखेको प्रचारप्रसार समितिका संयोजक एवं वडा कमिटी सचिव पुरुषोतम अधिकारीले जानकारी दिए ।

स्थानीय तहको निर्वाचनका लागि पोखरा महानगरपालिकामा एमालेले कृष्ण थापालाई मेयर र मञ्जुदेबी गुरुङलाई उपमेयरको उम्मेदवार बनाएको छ । वडा नम्बर ३१ बाट अध्यक्षमा चिरञ्जीवी बन्जरा, खुल्ला सदस्यमा देवेन्द्र अधिकारी र विनोदमणि लामिछाने, महिला सदस्यमा धनदेवी तिवारी र दलित महिला सदस्यमा तारा नेपाली चुनावी मैदानमा छन् ।

पोखरा ३१ नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं सगठन बिभाग प्रमुख खगराज अधिकारीको गृह वडा हो । ०७४ को स्थानीय तहको निर्वाचनमा यो वडाबाट सबै पदमा नेकपा एमालेका उम्मेदवार फराकिलो मतान्तरले विजयी भएका थिए ।