पोखरा १७ को एमाले गढ भत्काउँछौंः कांग्रेस

गएको स्थानीय चुनावमा पोखरा १७ मा नेकपा एमालेले अध्यक्षसहित सबै सदस्य जितेको थियो । अहिलेको निर्वाचनमा यहाँ एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रबीच त्रिपक्षीय भीडन्त छ । यहाँ कांग्रेस र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन बनेको छ ।

शुक्रबार भएको कार्यक्रमाम कांग्रेस नेताहरुले पोखरा १७ को एमालेको गढ भत्काउने दाबी गरे । कांग्रेस नेताहरु गुरु बराल र वृन्दा रानाले यसपालि वडामा कांग्रेसको नेतृत्वको गठबन्धनको जित निश्चित भएको बताए ।

शुक्रबार ६० जना नेपाली कांग्रेस गरे । चुनावी प्रचारको क्रममा पोखरा १७ को महतगौडा पुगेको टोलीको कोणसभामा विभिन्न पार्टी परित्याग गरी उनीहरु कांग्रेस प्रवेश गरेको बताइएको छ । नेता बरालले पार्टीप्रति देखिएको आकर्षणले वडामा गठबन्धनको जित सुनिश्चित भएको जनाए । बरालले भने, ‘पोखरा १७ मा यो पटक कांग्रेस र गठबन्धनका संयुक्त उम्मेदवारहरुले जित्ने पक्कापक्की जस्तै छ ।’

नेतृ रानाले पोखरा १७ लाई एमालेले आफ्नो गढ भने पनि यस पटकबाट त्यो कायम नहुने दाबी गरिन् ।

यहाँ कांग्रेस नेकप एस गठबन्धनबाट अध्यक्षमा देवराज आचार्य उम्मेदवार छन् । वडा सदस्यमा रञ्जिता सुवेदी, शोभा विश्वकर्मा, गोबिन्द बराल र बिक्रम भण्डारीले उम्मेदवारी दिएका छन् ।

पोखरा १७ को वडाध्यक्षमा कांग्रेसका वागी दीपेन्द्रको उम्मेदवारी निष्क्रिय

वडा अध्यक्षमा बागी उम्मेदवारी दिएका पोखरा १७ का नेपाली काँग्रेसका कार्यकर्ता दीपेन्द्र बरालले उम्मेदवारी फिर्ता लिएका छन् । उनले नेपाली काँग्रेस र गठबन्धनका आधिकारिक उम्मेदवारहरुलाई समर्थन गर्ने प्रेस विज्ञप्तीमार्फत जानकारी दिएका छन् ।

आफूले नेपाली काँग्रेस र जनताको हितका लागि उम्मेदवारी त्यागेर पार्टीको आधिकारिक उम्मेदवारलाई सघाउने निर्णय लिएको बरालले बताएका छन् । काँग्रेसभित्र प्रजातान्त्रिकमूल्यमान्यता स्थापित गर्नका लागि आफूले स्वतन्त्रउम्मेदवारी दिएको र नेतृत्व तहबाट त्यसको सम्बोधन गर्ने प्रतिबद्धता पछि उम्मेदवारी फिर्ता लिएको उनले बताए ।

‘हामीलाई हाम्रै पार्टीको साथीबाट सहयोग नमिल्ला कि भन्ने थियो, तर उहाँले हामीलाई नै सपोर्ट गर्ने निर्णय गरेर हाम्रो जित सुनिश्चित गराईदिनुभएको छ ।’ वडा नम्बर १७ का अध्यक्ष उम्मेदवार देवराज आचार्यले भने–‘उहाँलाई मनाउन पार्टीले लगाएको बलले काम गरेको छ । हामी सँगसँगै चुनावी घरदैलोमा हुनेछौँ ।’

बराललाई स्वतन्त्र उम्मेदवारीबाट फिर्ता गराउनका लागि नेपालीकाँग्रेसका नेता धनराज गुरुङले सक्रियता देखाएका थिए ।