मादीमा गठबन्धनको बाचाः बाँदर लखेट्न अभियान चलाउँछौं

गठबन्धनबाट मादी गाउँपालिका अध्यक्ष पदका उम्मेदवार बनेका नेपाली कांग्रेसका देवीजंग गुरुङले चुनाव जितेपछि बाँदर धपाउने अभियान चलाउने प्रतिवद्धता गरेका छन् । मादी गाउँपालिका ८ मा आयोजित चुनावी सभामा गुरुङले कृषकलाई बाँदरले निकै दुःख दिएको बताउँदै चुनाव जितेपछि यस्तो अभियान चलाउने बताएका हुन्

‘तपाईंहरुलाई बाँदरले खेती गर्न पनि दिएको छैन । खेती लगायो सबै सखाप पारिदिन्छ । चुनाव जितेपछि बाँदर धपाउने अभियान चलाउँछौं,’ गुरुङले भने ।

चुनाव जितेपछि कृषि, पर्यटन र उद्यमशीलतालाई मादी निर्माणको आधार बनाउने बनाउने उनले सुनाए । कृषि, पर्यटन र उद्यमशिलतालाई जोड दिँदै कृषकलाई साँच्चिकै नजिकको सिंहदरबारको अनूभुति गराउने उनले बताए ।

मादी गाउँपालिका उपाध्यक्ष पदका उम्मेद्वार नेकपा माओवादी केन्द्रका लालबहादुर गुरुङलले विकास विरोधी, कानुन, संविधान नमान्नेलाई वैशाख ३० गते पराजित गरिने बताए । अधिनायकवादी शैली र भ्रष्ट मानसिकतालाई मादीबासीले अनुमोदन नगर्ने उल्लेख गरे ।

मादी ८ मा घरदैलो एवं कोण सभामा नेपाली कांग्रेस मादी ८ का सभापति राजेन्द्र अधिकारी, माओवादी केन्द्रका केन्द्रीय सदस्य सोमती गुरुङ, वडाध्यक्ष पदका उम्मेदवार नेपाली कांग्रेसका देवीवंग गुरुङ, नेपाली कांग्रेस क्षेत्रीय सचिव सरोज केसी, मादी सभापति यामबहादुर गुरुङ, किरण सापकोटा, बेलबहादुर विक, चेतबहादुर गुरुङ, ओमप्रकाश गुरुङ, आश तामाङ लगायतले बोलेका थिए ।