पोखरा १७ को विकासको खाकासहित मत माग्दै एमाले उम्मेदवार

यही ३० गते हुने स्थानीय तह निर्वाचनमा देशैभर उम्मेदवार, नेता, कार्यकर्ता मत माग्न अहिले घरदैलोमा छन् । पोखरा १७ का एमालेका उम्मेदवारहरु पनि नेता, कार्यकर्तासहित अहिले जनताको घर घर पुगिरहेका छन् ।

अध्यक्षकी उम्मेदवार राधिकाकुमारी शाही योगीले आफ्ना एजेन्डा र अहिलेको कार्यकालमा गरेको काम नै जित्ने मुख्य आधार भएको बताइन् । वडाबासीको गुनासा सुन्न र तत्काल काम गर्न वडामा हेल्प डेस्था स्थापना गरिने उनको भनाइ छ ।

व्यवस्थित पर्यटन विकास, आत्मनिर्भर वडा, महिला र पिछडिएको समुदायलाई उत्थानका कार्यक्रम, स्वरोजगार युवा, पूर्ण भौतिक पूर्वाधार जस्ता एजेन्डासहित आफूहरु आएको योगीको भनाइ छ ।

एमालेबाट पोखरा १७ को महिला सदस्यमा विष्णुकुमारी थापा, दलित महिला सदस्यमा तारा परियार र खुला सदस्यमा शिवराम भण्डारी र विक्रम गुरुङ उम्मेद्वार छन् ।