यस कारण गलकोटको नेतृत्वमा दोहोरिन चाहेको हुँ

भरत शर्मा
मेयर उम्मेदवार
गलकोट नगरपालिका, बागलुङ

गलकोट नगरपालिकाको मेयरमा दोहोरिने यात्रामा हुनुहुन्छ, यहाँका नयाँ योजना के के छन् ?

स्रोत, साधन सिमित हुँदाहुँदै पनि समग्र राज्यमा गलकोट राम्रो नगरपालिकामा पर्छ नि । ५ वर्षको यो अवधिमा धर्ती, फुटेको होइन, आकास खसेको होइन, अनेक विषम परिस्थितिहरु आए । ती परिस्थितिको सामना गर्दै हामीअघि बढ्यौं । शून्यबाट सुरु गरेको नगरपालिकालाई अहिले यो स्थानमा ल्याएका छौं । मेरो नेतृत्वमा गएको ५ वर्षमा उल्लेखनीय काम भए ।

नयाँ व्यवस्थामा शून्यबाट काम सुरु गरेका थियौं । समृद्धि सपना पूरा गर्न दोहोरिनु जरुरी भयो । पार्टीले विश्वास गरेको छ, जनताले पनि विश्वास गर्नुहुन्छ ।

हाम्रो घोषणापत्र बन्दै छ । विगतमा रहेका विकृति र विसंगतिलाई चिर्न हामीले प्रयत्न ग¥यौं । ५ वर्षको कार्यकालमा मेरा सबै प्रयत्नले सार्थकता पाइसकेका छैनन् । मान्छेको चेतनाको स्तर अझै पूर्ण रुपमा माथि उठिसकेको छैन । हामी हाम्रो चेतनालाई थाती राखेर व्यक्तिगत स्वार्थमा लिप्त छौं । हामी ऐन, कानुन तोड्छौं अनि ठूलो मान्छे भयौं भन्ने ठान्छौं । राज्यलाई छल्न पाएपछि हामी ठूलो मान्छे भयौं भन्ने ठान्छौं । यो प्रवृत्तिलाई रोक्न जरुरी छ ।

सामान्य भौतिक पूर्वाधार यहाँ तयार भइसकेका छन् । स्वास्थ्य क्षेत्रमा गलकोटलाई मात्र केन्द्र बनाएर पनि विकास सम्भव रहेनछ । अब नगरपालिकाको सामाजिक तथा भौतिक फड्को मार्ने किसिमका योजना ल्याउन यहाँ मेरो नेतृत्व जरुरी छ ।

५ वर्ष गलकोटको नेतृत्व गरिसक्नु भयो, फेरि दोहोरिनैपर्ने कारणचाहिँ के छन् ?

हामीले नयाँ व्यवस्थामा शून्यबाट काम सुरु गरेका थियौं । हामीले नियम, कानुन निर्माण, विधि, विधान, कर्मचारी प्रशासनको व्यवस्था गर्दा र ज्ञान लिँदै लामो समय गयो । त्यसपछि कोभिड महामारीले हामीलाई काममा व्यधान ग¥यो, त्यसका बाबजुद हामीले आफ्नो सपना पूरा गर्न धेरै काम गरेका छौं । मैले गलकोटको समृद्धिको जुन दृष्टिकोण लिएर आएको थिएँ, त्यसलाई पूरा गर्नका लागि म दोहोरिन चाहेको हुँ ।

स्थानीय तहमा एक कार्यकालमात्र काम गर्दा चाहेजस्तो काम गर्न सकिँदैन । संवैधानिक रुपमै दुई कार्यकालसम्म काम गर्न पाउने व्यवस्था छ । यो अन्तराष्ट्रिय प्रचलन पनि हो । नेपालभर ममात्र होइन, दोहोरिन चाहेको । ९० प्रतिशत जति प्रमुख, उपप्रमुख दोहोरिन चाहेका थिए, केहीले यो अवसर पाए, केहीले पाएनन् । अहिले अवस्थालाई परिणाममुखी बनाउन हो मेरो उम्मेदवारी । अर्काे कार्यकाल मलाई कानुनले पनि छेक्छ । मलाई पार्टीले विश्वास ग¥यो, फेरि पनि जनताले विश्वास गनुहुन्छ ।

गएको ५ वर्षमा पूर्वाधार निर्माणमा कस्तो प्रगति भयो ?

हामीसँग ३ पुरानका वडा कार्यालय थिए, ८ वटा नयाँ बनायौं । नरेठाँटी, दुधिलाभाटी, हटिया, हरिचौर, काँडेबास क्षेत्रमा ढलान गरी हामीले राम्रो सडक बनायौं । हटिया बजारको भित्रि भाग पिच पनि गरिसक्यौं । बाल विकास केन्द्रको कमी भएकाले हामीले नयाँ ६ केन्द्र खोल्यौं । घुम्टेलाई प्रवद्र्धन गर्न समपूरक कोशबाट ७ करोडको योजनाअघि सा¥यौं ।

प्रशासनिक भवनका लागि जग्गा प्राप्ति निकै चुनौतिपूर्ण विषय थियो । कसैलाई पनि मर्का नगर्ने गरी नगरपालिकाको स्रोत र स्थानीयको सक्रिय सहभागितामा हामीले जग्गा व्यवस्थापन गरेका छौं । भवनको शिलान्यस भइसक्यो । भवनको २७ करोडको डिपिआर तयार भएको छ । हामीले २० करोडमा ठेक्का दिएका छौं, हामीसँग अहिले एक रुपैयाँ पैसा छैन । स्रोत खोजेर ३ वर्षभित्रमा त्यो भवन पूरा गरी आगामी नेतृत्वलाई आफ्नै सुविधासम्पन्न कार्यालयसहित कार्यभार सुम्पिने रहर पनि छ मेरो ।

अहिल्लो पटक एकल प्रतिश्पर्धाबाट जित्नुभएको थियो, अहिले गठबन्धनबाट जाँदा कस्तो अनुभव भएको छ ?

संविधानको रक्षा गर्न राष्ट्रिय स्तरमा गठबन्धन बनेको हो । स्थानीय सरकार सञ्चालन ऐनले संसदमा जस्तो प्रतिपक्षको भूमिकालाई व्यवस्थित गरेको छैन । गठबन्धनबाट सबै राजनीतिक दलको सल्लाह, सुझाव र सहकार्य हुँदा अर्काे कार्यकालमा कार्यसम्पादनका लागि सहज वातावरण बन्छ भन्ने मैले अनुभूति गरेको छु ।