कविता: ऊ एक मजदुर हो

रोटीले बेचिदिन्छ
किनिदिन्छ बजारले
सस्तो देखेर
व्यापारले मोल-भाउ गर्छ
बाध्यताले चिथोरिरहन्छ जीवनभर
घामको बुकुवा जिउँभरि दलेर
नसामा मिहिनेतको रगत बगाउँदै
कैयौं माइल हिँड्छ
रच्नुछ उसले नयाँ इतिहास
सघन बादलबिच
रौद्र सूर्यसँग
हर मिरमिरेबाट सुरु भएर
उसको यात्राले
एक यादगार साँझ बनाउँछ
तथाकथित उच्च व्यक्तिहरूका लागि
उसले के गरेन
अमृत दिएर
स्वयम्
उपेक्षाको विष पिओ
मँहगाइले थिचेर वाइँ वाइँ पार्दा पनि
आधा पेट खाँएर जिओ
कसैको सन्तोषको छानो
या होस ताजमहल
सबैको संरचनामा
मिसिएको छ उसैको पसिनाको नुन
चाहँदैन,
चाहँदैन ऊ
तिम्रो महलको कुनै इँटामा आफ्नो नाउँ लेखिओस्
ऊ चाहन्छ,
समय छ भने अलिकति सोचिदिनु
उसका दुई आँखामा लुकेका आवश्यकताहरू के के होलान।
उसलाई मिहिनेतको मोल दिए भइहाल्छ
आफ्नो कर्मशीलताको कारण
आज पनि चर्चित ऊ छ
लाचारी र
भोकमरी
ऊसँगै छ
तापनि,
कर्म गर्ने असीम साहस छ
किनकि,
ऊ एक मजदुर हो।