देशकै ठूलो महानगर पोखरामा स्थानीय चुनावमा रोचक प्रतिश्पर्धा हुँदै छ । सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका नेता धनराज आचार्य मेयर उम्मेदवार छन् भने एमालेले अढाइ दशकअघिका मेयर कृष्ण थापालाई टिकट दिएको छ । उपमेयरमा सत्ता गठबन्धनबाट कांग्रेसकी कोपिला रानाभाट मैदानमा छिन् भने एमालेले वर्तमान उपमेयर मञ्जुदेवी गुरुङलाई नै दोहो¥याएको छ । यसअघिको प्रदेशसभा निर्वाचनमा आचार्य थापाका चुनावी कमान्डरसमेत थिए । उम्मेदवारीको औचित्य र जितका आधारबारे सत्ता गठबन्धनका उम्मेदवार धनराज आचार्यसँग गरिएको कुराकानी यहाँ प्रस्तुत छ :
सोमबार मनोनयन दर्ताका क्रममा मेरो पार्टीको होइन, हाम्रो उम्मेदवारी भन्नुभयो, यसो भन्नुको अर्थ के हो ?
मैले मेरो पार्टीका हिसाबले त मनोनयन गर्दा गरँे नै । म नेकपा एकीकृत समाजवादीको प्रतिनिधि नै हुँ । तथापि देशका ६ महानगरको नेतृत्व कसले गर्ने भन्ने चाहिँ राष्ट्रिय राजनीतिले पनि अर्थ राख्ने गरी जोडिएर आयो । भूगोलिक दृष्टिले देशकै ठूलो महानगर पोखराको नेतृत्व एकीकृत समाजवादीले गर्ने भनिसकेपछि, हाम्रो पार्टीबाट कसले गर्ने भन्दा मेरो जिम्मेवारीमा आयो । यसरी हेर्दा त यो पार्टीको कुरा भयो ।
समग्रमा हेर्दा, साथमा को छन् भन्दा त गठबन्धनमा रहेका पाँच वटै दलको साझा प्रतिनिधि भएकाले मेरो पार्टीको उम्मेदवारी भन्दा पनि यो हाम्रो उम्मेदवारी हो भनेको हो । यो पाँच वर्ष नै इमान्दारितापूर्वक, निष्ठापूर्वक कतिपय अवस्थामा राजनीतिबाट माथि उठेर काम गर्ने प्रतिवद्धता जाहेर गरेको छु । निष्ठा ठूलो कुरा हो, विगतदेखि नै मैले यसलाई डग्न दिएको छैन ।
म र मेरो टिम पोखरालाई समृद्ध बनाउन फुल ड्युटी होइन, ड्युटीफुल हुनेछ । यो हाम्रो अर्जुनदृष्टि हो ।
पार्टी सानो–ठूलो होला तर मलाई सबै दलले साझा उम्मेदवारको रुपमा स्वीकारे । नेताहरुले चाहेको भए मलाई रोक्न पनि सक्नुहुन्थ्यो । सम्माननीय प्रधानमन्त्रीज्यूले पनि व्यक्तिका सम्बन्धमा कुनै अब्जेक्सन छैन भन्नुभयो । सरकारका विभिन्न निकायको रेकर्डमा पनि उपयुक्र्त पात्र भएको उहाँको भनाइ थियो । त्यस हिसाबले पनि म कस्तो पोखरा बनाउने भनेर गठबन्धनको निर्देश बमोजिम लाग्छु । यस हिसाबले म सबै पोखरेलीको साथमा काम गर्न सक्छु भनेर मैले आज मनोनयन दर्ता गर्ने क्रममा यसो भनेको हुँ । टिम, गठबन्धन र सबै पोखरेलीको साझा उम्मेदवार हुँ भन्ने मलाई विश्वास छ ।
अघिल्ला चुनावमा तपाई चुनावी कमान्डर हुनुहुन्थ्यो, आफैं उम्मेदवार हुँदा कस्तो अनुभूति भएको छ ?
म विगत ०४८ देखि नै चुनावमा परिचालित भएको छु । ०४६ पछि भएका सबै चुनावमा चुनावी परिचालनको कोर टिममा बसेर काम गरेको छु । मैले धेरै साथीहरुलाई चुनावमा विजयी गराएँ । धेरै चुनावमा म सारथि थिएँ । सूक्ष्म ढंगले चुनावमा लाग्दा १ प्रतिशतभन्दा कम मत तलमाथि हुने गरी हामी अनुमान गर्न सक्थ्यौं ।
त्यो ढंगले चुनावी अभियान चलाउँदा विगतमा सफलता पनि प्राप्त भएको थियो । ०४८ देखि गएको उपचुनावसम्म गरेको अनुभवले मलाई सघाउनेछ भन्ने ठानेको छु । विगतमा आफैं चुनाव नलडे पनि आफैं चुनाव लडेसरहको अनुभव मसँग छ ।
पहिले आफैंले जिताएका नेताहरुसँग प्रतिश्पर्धा हुँदै छ, कस्तो अनुभूत गर्नुभएको छ ?
राजनीतिमा यसलाई स्वभाविक रुपमा लिनुपर्छ । व्यक्तिगत सम्बन्ध आफ्नो ठाउँमा छ । अहिले पनि मेरा मित्रहरुसँग व्यक्तिगत सम्बन्ध नराम्रो छैन । माननीय कृष्ण थापाज्यू मेरो नजिक मित्र हुनुहुन्छ, उपमेयरज्यू एउटा सालिन व्यक्तित्व हुनुहुन्छ । उहाँहरुसँग व्यक्तिगत हिसाबले केही नराम्रो छैन । पार्टी र टिमको नेतृत्व गरेर जाँदा यो खालको प्रतिश्पर्धा गर्नुपर्ने परिस्थिति पनि आउँदो रहेछ । हामीले राष्ट्रिय राजनीतिमा पनि देखेका छौं कि आफूनिकटका लाई बाहिर राखेर बाहिरका मानिसलाई लिएर सरकार बनाएको । त्यो वाध्यता पनि हुँदो रहेछ ।

आजसम्म मसँग नजिक भएका साथीहरु उहाँहरुले यसअघि कतिपय कारणले मैले भनेको ठाउँमा मतदान गर्न पाउनुभएको थिएन । यस पटक अलिकति त्यो सीमा हराएको महसुस मैले गरेको छु । साथीभाइ, शुभेच्छुकको प्रतिक्रियाले मलाई यस्तो अनुभूति गराएको छ । स्थानीय चुनाव राष्ट्रिय चुनाव जस्तो होइन । यसमा व्यक्ति र एजेन्डा हेरिनुपर्छ भन्ने मान्यता बन्दै गएको छ । जोसँग कुराकानी, अन्तक्र्रिया हुँदा मलाई यस्तो लागेको छ । राजनीतिक सीमाभन्दा स्थानीय चुनावमा माथि हुनुपर्छ भन्ने नगरबासीको अभिमत सुनेको छु । यो नै हाम्रो टिम र मेरो विजयको आधार हो भन्ने मलाई लाग्छ ।
पोखराको नेतृत्वमा दाबेदारी गर्दै गर्दा तपाईका एजेन्डाहरु के के छन् ?
म मेरो पार्टीको मात्र उम्मेदवार भएको भए अहिले नै म यस्तो यस्तो गर्छु भन्ने दिन सक्थेँ । त्यो मसँग एकदमै तयार छ । गठबन्धनका अरु दलले तयार पारेको घोषणापत्र र मेरो पार्टीको घोषणापत्र मिलाएर चाडै हाम्रो एजेन्डा सार्वजनिक गर्छाैं । सोमबार संयुक्त मनोनयन दर्ता गराएका छौं, मंगलबारसम्म संयुक्त घोषणापत्र तयार गरी बुधबार हामी सार्वजनिक गर्छाैं । अहिले साझा कार्यक्रम ल्याउने भएकाले गठबन्धनका रहेका दलहरुले पनि अपनत्व लिनुपर्ने भएकाले पछि हामी सार्वजनिक गर्छाैं ।
यो गठबन्धन नामका लागि होइन, देशका लागि, स्वाधीनताका लागि र जनताका लागि हो ।
मेरो व्यक्तिगत धारणाको कुरा गर्नुहुन्छ भने पोखरा प्रकृतिले दिएको सुन्दर, शान्त र अनुपम स्थल हो । यसलाई हामीले उचित तरिकाले संरक्षण गर्न सकेका छैनौं । पोखरालाई बिगार्ने छुट वर्तमान पुस्तालाई छैन । सकुशल पोखरा हामीले भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्छ । यसका लागि हामीले समय अनुसार भएको प्राकृतिक विकासलाई नै विकास मान्ने हो भने पोखराको विकास हुन सक्दैन । यसलाई फास्ट ट्याकमा अघि बढाउनु जरुरी छ । पूर्वाधार निर्माण र पोखराले खोजेको विकासमा हामीले गति बढाउनै पर्छ । पोखरा भन्नेबित्तिकै मान्छेले फेवाताल र माछापुच्छ«े सम्झन्छ, पोखरा त्यतिमात्र हो त ? विभिन्न अवयवबाट हामी पोखराको परिचय स्थापित गर्र्छाैं । आगामी पाँच वर्षभित्र पोखरामा के के जरुरी छ भन्ने हामी योजनाबद्ध रुपमा दिन चाहन्छौं ।
नयाँ चुनावचिह्न, नयाँ पार्टी लिएर जनतासम्म जान अप्ठेरो छैन ?
नागरिक अहिले निकै सचेत भइसक्नु भएको छ । माधव नेपालले नेतृत्व गरेको पार्टी हो हाम्रो । उहाँले १५ वर्षसम्म एमालेको नेतृत्व गर्नुभयो । नेकपा माले बनाउनदेखि यहाँसम्मको यात्रमा दुई पूर्वप्रधानमन्त्री हामीसँग हुनुहुन्छ । अहिले हामी नेपालकै पुरानो दल नेपाली कांग्रेससँग बसेर सहकार्य गर्दै छौं । जहाँसम्म चुनावचिह्नको कुरा छ, यो एउटा साधनमात्र हो । नेपालमा कहिल्यै प्रयोग नभएको हँसिया, हथौडा लिएर नेकपा माओवादीले बहुमत पाएको थियो । सूर्य चिह्न हुँदा पनि हामी झरेर धेरै तल पनि पुगेका थियौं विगतमा । त्यसो भएकाले चिह्न मुख्य होइन, एजेन्ड मुख्य हो । यो कुरा धेरै जनताले बुझ्नुभएको छ, बुझाउन सकिन्छ । सूचना र प्रविधिको युग हो यो ।
चुनावचिह्नको कुरा छ, यो एउटा साधनमात्र हो । सूर्य चिह्न हुँदा पनि हामी झरेर धेरै तल पनि पुगेका थियौं विगतमा ।
८५ प्रतिशतभन्दा बढी मानिसको हातमा मोबाइल छ । घरमा टेलिभिजन हेर्ने पुस्ता पनि छ । उहाँहरु सबैलाई पोखराको मेयरमा यसपालि धनराज आचार्यको उम्मेदवारी छ भन्ने थाहा छ । हाम्रो सबै वडाका साथीहरुले पनि आफूसँगसँगै हाम्रो बारेमा पनि मतदातालाई बुझाउनुहुन्छ । मतपत्रमा हामीलाई थोरै दुविधा थियो । अस्तिबाट त्यो पनि सकिएको छ । देशका ६ महानगर र भक्तपुर जिल्लामा उम्मेदवार नभएका पार्टीको चुनावचिह्न नरहने निर्वाचन आयोगले प्रष्ट पारिसकेको छ । मेयरमा गठबन्धनका दलमध्ये कलममात्रै हुन्छ । यो जानकारी हामी सबै मतदातासम्म पु¥याउँछौं ।
पोखरामा मुख्य पदबाहेकमा गठबन्धन भएन, गठबन्धनको मत पाउनु होला त ?
कास्कीका ७२ मध्ये करिब ९० प्रतिशत वडामा सहमतिमै उम्मेदवारी मनोनयन भएको छ । केही वडामा हामीले सल्लाहले नै आआफ्ना पार्टीका उम्मेदवार पनि उठाएका छौं । त्योमध्येमा को कसले नेतृत्व गर्ने हामी एक, दुई दिनमा निक्र्याेल गर्छाैं । जसले फिर्ता लिनुपर्ने हो, उहाँहरुले लिनुहुन्छ । हामी जति बेलाबाट चुनावी प्रचारप्रसारमा जान्छौं, त्यति बेलासम्म गठबन्धनका साझा उम्मेदवार वडा तहसम्म हुने छन् । यसमा कुनै शंका छैन ।
गठबन्धनबारे नेता, कार्यकर्तामै सहज बुझाई देखिएन, मतदातालाई कसरी बुझाउनुहुन्छ ?
निर्वाचन एउटा जीवन्त प्रक्रिया हो । यसले पाँच वर्षका लागि प्रतिनिधि चुन्छ । यसमा जनताका अपेक्षा पनि हुन्छन्, कार्यकर्ताका अपेक्षा पनि हुन्छन् । जितहार जे होस्, उम्मेदवार हुन पाऊँ भन्ने पनि हुन्छ । कहिलेकाँही परिस्थितिले अर्कै ठाउँमा पु¥याउँदो रहेछ । देशको आवश्यकताले त्यहाँ पु¥याउँदो रहेछ । आफूभन्दा बाहिरका पार्टीसँग सहकार्य नेपालीका लागि नयाँ होइन । ०४६ सालमा वाम र लोकतान्त्रिक शक्ति मिलेर परिवर्तन सम्भव भएको हो । ०६२/०६३ मा पनि त्यसरी नै दलहरुबीच सहकार्य भयो, राजनीतिक परिवर्तन सम्भव भयो । नेपालको संविधान जोगाउन मिलेर जानुपर्छ भनेर यो गठबन्धन बनेको हो । यो गठबन्धन नामका लागि होइन, देशका लागि, स्वाधीनताका लागि र जनताका लागि हो ।
जनताका माझ कसरी जानुहुन्छ ?
हामी पाँच वटै पार्टी मिलेर जनतामा जान्छौं । त्यसका लागि हामीले विभिन्न कमिटीहरु बनाएका छौं । सकेसम्म कम खर्च होस् र तडकभडक नहोस् भन्ने चाहेका छौं । पाँच पार्टी मिलेर खर्चमा योगदान गर्ने योजना छ । संयोजन पनि मिलेर नै गर्छौंं ।
पोखराबासीले तपाईलाई किन मत दिने ?
हाम्रो एजेन्डा नै मुख्य कुरा हो । पोखरालाई अत्याधुनिक सहर बनाउन हामी के के कुरा लिएर आउँछौं भन्ने नै प्रमुख पक्ष हो । पूर्व मेयर सा’प पनि हामीसँग प्रतिश्पर्धामा हुनहुन्छ । उहाँले आफ्नो पालामा केही पक्षमा राम्रो थालनी पनि गर्नुभएको थियो । पोखराको विकासका लागि हामीकहाँ चुक्यौं भन्ने धेरै ठाँउ छन् । अहिले पनि हामी इन्जिनियर पदमबहादुर थापा र शंकरराज पाठककै नाम भजाएरअघि बढिरहेका छौं । यो पाटनै पाटनको सहर, तालै तालको सहर, खुसी मानिस बस्ने सहर । आज हरेक ठाउँमा अस्तव्यस्त भइरहेको छ । सुशासनका कमजोर भएको छ । विकास, निर्माणमा, सम्पदा संरक्षणका अहम् सबालमा जनताको प्रश्नको अहिलेको नेतृत्वले उत्तर दिन सकेको छैन । ती सबै अनुत्तररित प्रश्नको जवाफ लिएर म र मेरा टिम आउँछ ।
हामीले महानगरका काम गरेका साथीहरुको कार्यप्रणाली बुझेका छौं । देश विदेशका अनुभव पढेका छौं, सुनेका छौं । म आफैं पनि व्यवस्थापनको विद्यार्थी हुँ । मसँग पोखरालाई समृद्ध बनाउने धेरै योजना छन् । अन्त्यमा म सबैलाई हाम्रा एजेन्डा राम्रोसँग सुनिदिन, बुझिदिन आग्रह गर्दछु । यो कुनै एउटा व्यक्तिले गर्न सक्ने कुरा होइन, यसका लागि नेतृत्वमा इच्छाशक्ति चाहिन्छ । म र मेरो टिम पोखरालाई समृद्ध बनाउन फुल ड्युटी होइन, ड्युटीफुल हुनेछ । यो हाम्रो अर्जुनदृष्टि हो ।




