तारा खेलमा म्याग्दीलाई उपाधि

मनाङ-हिमालपारीको जिल्ला मुस्ताङ र मनाङमा तारा खेल(धनुष बाँण) ऐतिहासिक हो । ऐतिहासिक खेलको प्रवद्र्धन गर्न हिमालपारीको जिल्ला मनाङमा प्रतियोगिता शुरु गरिएको छ ।

तारा खास गरी हतियारको रुपमा प्रयोग गरिन्थ्यो । विस्तारै हतियारबाट प्रदर्शनको रुपमा अगाडि बढ्यो । खास गरी छन्त्याल समाज, थकाली सेवा समिति, मगर, मार्फा थकाली समाज, तीन गाँउले थकाली, पुन समाज, ताङ्वे सेवा समाज, बाह्रगाँउले, छुसाङ, गुरुङ लगायतका जातिले तारा खेल्ने गरेका छन् । त्यसपछि खेलको रुपमा विकास हुन पुग्यो । परम्परागत खेलको विकास, संरक्षण र प्रवद्र्धन गर्ने जमर्को गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयले शुरु गरेको हो । मनाङको ङिस्याङ गाँउपालिका वडा नं ६स्थित मनाङमा गण्डकी प्रदेश खेलकुद परिषदको आयोजनामा दुईदिने प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगितामा कास्की, बाग्लुङ, म्याग्दी, पर्वत, मनाङ, मुस्ताङका खेलाडीहरुले प्रतिस्पर्धा गरेका छन् । ३६ जना खेलाडी प्रतिस्पर्धा गरेका थिए । प्रत्येक टिममा ५ जनाले दशडोर प्रहार गरेका थिए । दश डोर प्रहारबाटै खेलाडीले प्राप्त गरेको अंकको आधारमा विजेता घोषणा गरिएको थियो ।
प्रतियोगितामा म्याग्दी जिल्ला च्याम्पियन बनेको छ । म्याग्दीले ८८ स्कोर जोड्दै नगद ५० हजार राशीको पुरस्करा प्राप्त गर्दा कास्की जिल्ला भने दोस्रो स्थानमा रह्यो । कास्कीले ८३ स्कोर ल्याएको थियो । मुस्ताङ ७० स्कोरसहित तेस्रो हुन पुग्यो । कास्की नगद ३० हजार र मुस्ताङले २० हजार रुपैयाँ प्राप्त गरे । दुई दिने प्रतियोगितामा बेष्ट स्कोर म्याग्दीका कृष्ण घर्ती मगर र सर्वाधिक खोल हान्ने बाग्लुङका प्रवीण श्रेष्ठ घोषित भएको प्रतियोगिताका संयोजक एवं गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य योगेन्द्र शेरचनले जानकारी दिए । उनीहरुले क्रमश नगद ५ हजार र ३ हजार रुपैयाँ प्राप्त गरेका थिए ।

प्रतियोगितामा बाँसको सिंगलपिसको धनु र नियालोको बाँण प्रयोग गरिएको थियो । परम्परागत नियम अनुसार ३० मिटरको दुरीमा प्रहार गरेर प्रतियोगिता खेलाईएको संयोजक शेचरनले बताए । प्रतियोगितामा नेपाल आर्चरीका राष्ट्रिय निर्णायक दलमान छन्त्याल, भीमबहादुर पुन, सन्जिवमान तुलाचनले प्रतियोगिता सञ्चालन गरेका थिए । प्रतियोगितामा विजेतालाई गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ, मन्त्रालयका उपसचिव घनश्याम पौडेल, गण्डकी खेलकुद परिषदका सदस्य योगेन्द्र गुरुङ लगायतले पुरस्कार प्रदान गरेका थिए ।