विशाल महादेव मुर्ति परियोजना पूरा गर्न पुम्दीकोटमा महायज्ञ

पोखरा २२, पुम्दीभुम्दीको पुम्दीकोटमा आइतबारदेखि महायज्ञ सुरु भएको छ । पुम्दीकोट कोट विकास समितिको आयोजनामा १२ वैशाखसम्म महायज्ञ चल्नेछ ।

महायज्ञको उद्घाटन उध्र्वाम्नाय श्री काशी सुमेरु पीठाधीश्वर जगतगुरु शंकराचार्य स्वामी नरेन्द्रनन्द सरस्वतीजी महाराजले गरे । उनले विश्वमा शान्ति कायम गर्न सनातन धर्मले महत्वपूर्ण भूमिका खेल्ने बताए । नेपालको पछिल्लो राजनीतिक परिवर्तनले गर्दा हाल नेपालमा अझै दिगो शान्ति कायम हुन नसकेको उनको टिप्पणी छ ।

पोखरा २२ का वडाध्यक्ष मित्रलाल बरालले विशाल महादेव मुर्ति निर्माण परियोजना पूरा गर्नु जरुरी भएको बताए । ब्रह््रकुमारी ईश्वरीय विश्वविद्यालय पार्दी शाखाकी अप्सराले पछिल्लो समय मानिसले आफ्नो धर्म, संस्कृति भुल्दै गएकोमा चिन्ता व्यक्त गरिन् ।

यसअघि पोखरा २२ को वडा कार्यालयबाट सुरु भएको शोभा यात्रा धारापानी, स्वाँरा, लुकुन्स्वारा, डाँडाथोक हुँदै महायज्ञ स्थल पुगेको थियो । पुम्दीकोटमा परियोजना अन्र्तगत अधुरा कार्य सम्पन्न गर्न र समितिको करिब ३ करोड ७५ लाख ऋण भुत्तानी गर्नका लागि दोस्रो पटक महायज्ञ आयोजना गरिएकोे समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताए ।
परिमार्जित परियोजना अन्तर्गत सुमेरु पर्वत नामाकरण गरी कुमार, पार्वतीको मुर्ति स्थापना गर्ने, भूमेश्वर महादेवदेखि सुमेरु पर्वतसम्म विद्युतीय चियर कार निर्माण गर्ने, ग्रिनरी पार्क निर्माण गर्ने, व्यवस्थित पार्किङ स्थल निर्माण गर्ने लगायतका परियोजना रहेको अध्यक्ष बरालले जानकारी दिए । ४० करोडको परियोजना अन्र्तगत ५१ फिट अग्लो महादेवको मुर्ति, ३१ फिट अग्लो डम्मरु, विशाल महादेवको विशाल क्षेत्र कुण्ड(गंगा पोखरी), १ सय ८ स्वर्गद्वारी सिढी निर्माण भइसकेका छन् ।

यसैगरी १ सय ८ धारा जडित तेस्रो आँखा, २ सय १६ शिव लिंग, शिव ताण्डव नृत्य हल, अन्तर्राष्टिय ध्यान केन्द्र, मनोरेलद्वारा गणेश परिक्रमा, फूलमाला बिक्रीका लागि ४१ वटा सटर, कम्पाउन्ड वाल, प्रशासकीय भवन, शौचालय लगायतका भौतिक संचरना निर्माण भएका छन् ।
परियोजनाको करिब ५० प्रतिशत काम सकिँदा करिब २० करोड लगानी भएको उनले जनाए । ९ दिन चल्ने महायज्ञमाबाट करिब ६ करोड रुपैया संकलन गर्ने लक्ष्य राखिएको छ भने महायज्ञ सम्पन्न गर्न करिब ७० लाख खर्च लाग्ने अनुमान छ ।

मुख्य वाचकको रुपमा पण्डित कमलनयन गौतम रहने भएको समितिले जनाएको छ । बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म कथा प्रवचन, झाँकी प्रर्दशन गरिने भएको समितिका उपाध्यक्ष हिमलाल बरालले बताए । यसअघि २०७३ फागुन ३ देखि १३ गतेसम्म सञ्चालन भएको महायज्ञबाट ६ करोड २८ लाख नगदसहित २० रोपनी जग्गा प्राप्त भएको थियो ।
पर्यटन प्रबद्र्धनका लागि पुम्दीकोट विशाल महादेव मूर्ति निर्माण हाम्रो अठोट, समृद्धि र विकास, बेरोजगार र विदेश पलायन हुनेका लागि निकास भन्ने नाराका साथ आयोजना हुने महायज्ञमा पोखराको मुख्य बजारबाट महोत्सव स्थलसम्म जाने आउनका लागि निशुल्क बस सेवाको व्यवस्था गरिएको अध्यक्ष बरालले बताए ।

उक्त विशाल महादेवको मुर्तिको औपचारिक उदघाटन बिना हिजोआज दैनिक जसो ५ सय पर्यटक जान थालेको समितिले जनाएको छ । विशाल महादेवको मुर्ति अवलोकनका लागि औपचारिक उद्घाटनपश्चात मात्र प्रशासनको समन्वयमा निश्चित शुल्क निर्धारण गरिने समितिले तयारी गरेको छ ।
महायज्ञ उद्घाटन सत्रमा विशाल महादेव मुर्ति प्रदान गर्ने कमल जैन, ५५ लाख सहयोग गरेका विष्णु बराल लगायतलाई सम्मान गरियो ।