बूँद रानालाई गजल प्रतिभा सम्मान

गजल प्रतिभा सम्मान २०७८ अग्रज गजलकार बूँद रानालाई प्रदान गरिने भएको छ । नेपाली गजलको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने गजलकारलाई प्रदान गरिने यो सम्मानको राशि २१ हजार १ सय ११ रुपैयाँ र सम्मानपत्र छ ।

गजल सन्ध्या पोखराले वैशाखको दोस्रो शनिबार विशेष समारोह आयोजना गरी पुरस्कार प्रदान गरिने अध्यक्ष वसन्त विनोदले जानकारी दिए । सन्ध्याले देशका विभिन्न ठाउँमा रहेर नेपाली गजलको विकास, विस्तार र गुणस्तरीय लेखनमा सक्रिय गजलकारलाई यो सम्मान प्रदान गर्दै आएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य रानाका गजल र बालसाहित्यका कृति प्रकाशित छन् । कवि तथा समाजसेवी ढाका थापाले स्थापना गरेको २ लाख रुपैयाँको अक्षयकोषमार्फत गजलकार रानालाई सम्मान गर्न लागिएको सन्ध्याका उपाध्यक्ष सुरज उपाध्यायले बताए ।

साहित्यकार रुपिन्द्र प्रभावीको संयोजकत्वमा बनेको प्रतिभा छनोट समितिले रानालाई पुरस्कार दिन सिफारिस गरेको थियो । समितिमा मन क्षेत्री, मोहन भण्डारी, त्रुपक र बिर्सना बस्नेत सदस्य थिए ।

यसअघि प्रत्येक वर्ष गजल प्रतिभा पुरस्कार र सम्मान छुट्टाछुट्टै स्रष्टालाई एकै समयमा प्रदान गर्दै आएको २ वर्षदेखि कोषको व्यवस्थापन गरी १ वर्ष पुरस्कार र अर्को वर्ष सम्मान दिन थालिएको थियो ।

यसअघि ज्ञानुवाकर पौडेल, ललिजन रावल, लक्ष्मण थापा, कृष्ण उदासी, दिलीप दोषी, सरस्वती श्रेष्ठ ‘सरु’, प्रकट पगेनी शिव, आरबी फ्लेम, ईश्वरमणि अधिकारी, घनश्याम न्यौपाने ’परिश्रमी’ र श्रेष्ठ प्रिया पत्थर गजल प्रतिभा सम्मानबाट सम्मानित भइसकेका छन्।

गजल सन्ध्याले पछिल्लो दशकयता पोखरालाई केन्द्र बनाएर नेपाली गजलको क्षेत्रको उन्नयनमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको छ । ‘गजलको उत्थान, हाम्रो अभियान’ भन्ने उद्घोषका साथ संस्थाले नियमित गजलवाचन, अक्षरयात्रा सञ्चालन, पुस्तक प्रकाशन, विमोचन तथा परिचर्चा लगायतका कार्यक्रम गर्दै आएको छ ।