निर्वाचनबाट छनिए माओवादी केन्द्र पोखरा महानगर पदाधिकारी

नेकपा माओवादी केन्द्र पोखरा महानगर कमिटी अध्यक्षमा हरिनारायण गिरी ‘विज्ञान’ निर्वाचित भएका छन् । माओवादी केन्द्र पोखरा महानगर कमिटीको शुक्रबार भएको निर्वाचनले महानगरका पदाधिकारी चुनेको हो ।

यसअघि भएको माओवादी महानगरको अधिवेशनले पदाधिकारी बिनाको जिल्ला कमिटी चुनेको थियो । विज्ञानले शिवजी लामिछानेलाई २ मतले पराजित गरेका छन् । विज्ञानले ३९ मत पाएका छन् । उपाध्यक्षमा हर्कमान विश्वकर्मा, भानुभक्त अधिकारी र विमला पहारी चुनिएका छन् । विश्वकर्मा, अधिकारी र पहारीले क्रमशः ४५, ४३ र ४२ मत पाएका थिए । उपाध्यक्षका प्रत्यासी हरि भण्डारीले ४० र लक्ष्मीप्रसाद सुवेदीले २७ मत पाए ।

सचिवमा विपिन आचार्यले पराजित गर्दै जनक पराजुली निर्वाचित भए । आचार्यले ३६ र पराजुलीले ४० मत पाएका छन् । सहसचिवमा सविन जिसीलाई हराउँदै ईश्वरीप्रसाद लम्साल चुनिए । लम्सालले ४५ मत पाउँदा जिसीले ३१ मत पाए ।

कोषाध्यक्षमा सूर्यप्रसाद तिवारीलाई ५ मतले पराजित गर्दै बुद्धिमाया गुरुङ विजयी भइन् । उनले ३९ मत पाएकी छन् । पटक पटक सर्वसम्मत गर्ने प्रयास असफल भएपछि निर्वाचनबाट महानगर कमिटी चुनिएको हो ।