पोखराको गन्धर्व थियटरमा ‘शिरीषको फूल’

नाटक ‘शिरीषको फूल’ मञ्चन तयारी पूरा भएको छ । नाटक बिहीबारबाट पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन हुँदै छ ।

२७ गतेसम्म मञ्चन हुने यस नाटकको निर्देशन अञ्जान प्रदीपले गर्नु हुनेछ । थिएटर मल र पोखरा थिएटरको सहकार्यमा नाटक मञ्चन हुन लागेको हो । नाटक हरेक दिन साँझ ५ मञ्चन गरिनेछ । यसका अलावा शनिबार दिउँसो १ बजेसमेत नाटक मञ्चन हुनेछ ।

केदार श्रेष्ठको परिकल्पना रहेको नाटकमा समृद्धि नेपाल, सञ्जय विश्वकर्मा, हाङ ओ हाङ राई, सविना गोपाली, मञ्जु महर्जन, अञ्जु रिजाल, अस्मिना भारती, रेजी बस्नेत र जेनी सुनुवारको अभिनय हेर्न पाइनेछ । नाट्य आलेख चौथो आयामले तयार गरेका हुन् ।

यो नाटकसाहित्यकार पारिजातको मदन पुरस्कार विजेता उपन्यास शिरीषको फूल (वि.स.२०२२)मा आधारित छ । थिएटर मलका संस्थापक तथा कला निर्देशक रहेका परिकल्पनाकार केदार श्रेष्ठ शिरीषको फूलको देशयात्रा सुन्दर नगरी पोखराबाट सुरु हुन लागेकोमा उत्साहित भएको सुनाउँछन् ।

पोखरा थिएटर संस्थापक तथा क्रियटिभ डाइरेक्टर परिवर्तनले थिएटर मलसँग संस्थागत सहकार्यमा नाटक मञ्चन गर्न पाउदा प्रशन्नता व्यक्त गरे ।