चैत ३० बाट फेवा नव वर्ष महोत्सव

कोभिड १९ बाट शिथिल बनेको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्ने उद्देश्यसहित पोखरामा हुने १७ औं फेवा नव वर्ष महोत्सवको तयारीअघि बढाइएको छ । यही चैत ३० देखि आगामी वैशाख १ गतेसम्म लेकसाइडको फिस्टेल गेटदेखि हल्लनचोकसम्मको ३ किलोमिटर सडकमा महोत्सव चल्नेछ ।

महोत्सवलाई सफलतापूर्वक सम्पन्न गर्न विभिन्न २१ उपसमिति गठन गरी तयारी अगाडि बढाइएको आयोजक होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । पर्यटन, संस्कृति र खानालाई विशेष जोड दिएर संघले पहिलोपटक सडकमा नै महोत्सव आयोजना गर्न लागेको महोत्सवका संयोजक समेत रहेका सुवेदीले बताए ।

पोखराका होटलमा अहिले २० प्रतिशत हाराहारी अकुपेन्सी रहेको जानकारी दिँदै सुवेदीले आन्तरिक र भारतीय पर्यटकको आगमन विस्तारै बढ्न थालेको जानकारी दिए । महोत्सवका अवसरमा आफ्ना सदस्य होटलमा बस्ने पाहुनालाई ३० प्रतिशत छुटको घोषणा गर्दै अध्यक्ष सुवेदीले रेस्टुरेन्ट र प्याराग्लाइडिङ क्षेत्रबाट समेत महंगीका बावजुद पुरानै मूल्यमा सेवा प्रदान गर्ने प्रतिबद्धता प्राप्त भएको उनले उल्लेख गरे ।

संघका सल्लाहकार एवं होटल संघ नेपालका केन्द्रीय सदस्य भरतराज पराजुलीले पछिल्ला वर्षमा पोखरा र वरपरका क्षेत्रमा नयाँ पर्यटकीय गन्तव्य थपिने क्रम रहेको उल्लेख गर्दै यसले पर्यटकको बसाई अवधि लम्ब्याउन मद्दत पुग्ने विचार राखे । विशाल शिव मूर्ति, केवलकार, बन्जी जम्पिङ, जिपलाइन जस्ता पर्यटकीय सम्पदाले यस क्षेत्रमा आकर्षण थपिएको पराजुलीले बताए ।

परम्परागत नेपाली खाना प्रदर्शन र बिक्री, सांस्कृतिक झाँकी, प्रख्यात कलाकारबाट पप कन्सर्ट, मनोरञ्जनात्मक कार्यक्रम र लोक दोहोरीका महोत्सवका आकर्षण छन् । अम्मट र सेन्टर प्वाइन्टमा स्टेज निर्माण गरी कार्मक्रम सञ्चालन हुनेछन् ।

नेपाली संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रबद्र्धन गर्ने उद्देश्य महोत्सवले लिएको छ । अन्नपूर्ण केवलकार प्रालि महोत्सवको मुख्य प्रायोजक रहेको महोत्सवको प्रवद्र्धकमा नेपाल पर्यटन बोर्ड छ ।