गण्डकी प्रदेश सभा सदस्य मीना गुरुङले आम जनप्रतिनिधिभन्दा फरक तवरले काम गरेकी छन् । नेकपा एमालेबाट समानुपातिक सांसद बनेकी उनले आफूले पाएको तलब, भत्ता सामाजिक काममा खर्चेकी छन् ।
प्रदेश सांसद गुरुङले आफू सांसद भएर आएपछिको पछिल्लो ४ वर्षमा करिब ११ लाख रुपैयाँ सामाजिक कार्यमा खर्च गरेको सार्वजनिक गरिन् । ‘मैले मेरो तलब, भत्ता सामाजिक कार्यमा खर्च गरेकी छु,’ उनले भनिन् । उनले संस्कार, संस्कृति संरक्षण, महिला, बालबालिका, बेटी बचाऔं अभियान, वृद्धाश्रम, मानवसेवा आश्रम, शिक्षा, खेलकुद, गरीब, दुःखी तथा असहायःलाई सहयोग, भवन निर्माण, विद्यालयमा न्यानो कपडा वितरण लगायतमा यो रकम खर्च गरेकी हुन् ।
सांसद गुरुङले महामारीका बेला पनि सामाजिक कार्यलाई निरन्तरता दिएकी थिइन् । उनले दुई महिनाको तलबभत्ता राहत वितरणमा खर्च गरिएको बताइन् । त्यसबाहेक निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत २०७६÷७७ मा ५० लाख बिनियोजन गरेको उनले बताएकी छन् ।
एमाले गण्डकी प्रदेश सदस्य, नेपाल ट्रेड युनियन महासंघ ९जिफण्ट०की केन्द्रीय उपाध्यक्ष तथा नेपाल ट्रेड युनियन महासंघ ९जिफन्ट०को राष्ट्रिय महिला कमिटीकी निवर्तमान अध्यक्षसमेत रहेकी उनले आफ्नो पहलमा कास्की निर्वाचन क्षेत्र नम्बर २ ९क०मा विकास निर्माणले फड्को मारेको दाबी गरिन् ।
२०७७÷७८ मा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत पोखरा १६ मा तुम्के–गल्र्याङ–आलेबारी सडक स्तरोन्नतीका लागि १२ लाख ५० हजार, पोखरा ११ फूलबारी मार्ग बास्तोलाथरको बाटो तथा फुलबारी समितारा मार्गमा रेलिङ निर्माणका लागि ७ लाख, बाँसखोलाबाट पाँडेथोक जानेबाटो स्तरोन्नतीका लागि ४ लाख, पोखरा १६ मा चण्डीका मन्दिरमा कम्पाउन्ड वाल र पार्क निर्माण तथा कार्कीको घरदेखि गैह्रीस्वारा जाने ढल एवम् स्ल्याव र गायकटोल खानेपानीको पाइप विस्तारका लागि ६ लाख गरेर २९ लाख ५० हजार बिनियोजन गरेको गुरुङले जानकारी दिइन् ।
२०७८÷७९ मा पोखरा ८ को श्रीराम आधारभुत विद्यालय परिसरमा पूर्वाधार निर्माणका लागि ७ लाख, पोखरा ९ मा नेपाल ट्रेड युनियन महासंघ जिफन्टको भवन तल्ला थप योजनाका लागि ५ लाख, तमु धिँ नेपालको सभाकक्ष निर्माणका लागि १० लाख, पोखरा बहुमुखी क्याम्पस भवन निर्माणका लागि ७ लाख, पोखरा ११ मा उत्पीडित समाज घर निर्माणका लागि ६ लाख, पोखरा १६ मा श्रवणकुमार ज्येष्ठ नागरिक विवा सेवा केन्द्रको भवन निर्माणका लागि ७ लाख र पोखरा २० मोहरिया–मौजा–लामडाँडा सडक स्तरोन्नतिका लागि ८ लाख गरेर ५० लाख बिनियोजन भएको छ ।
उनले सांसद भएपछि पछिल्लो चार वर्षमा गरेका कामको फेहरिस्त रहेको बुकलेटमा भनेकी छन्, ‘मेरो लागि राजनीति सिधा रेखा हो, सबैले यसलाई बक्ररेखा भन्छन् । म बक्ररेखा देख्दिनँ । म सिधा र ईमान्दार राजनीति गर्न चाहन्छु ।’
कार्यक्रममा एमाले सचिव पदमा अर्यालले सांसद गुरुङको प्रशंसा गरिन् । उनले कास्कीका पाँचवटै पालिका जित्नेगरी चुनावको तयारी गर्न निर्देशन दिएकी छन् । अर्यालले कास्कीका सबै पालिकामा क्लिन स्वीप गर्ने गरी तयारी गर्न नेता, कार्यकर्तालाई निर्देशन दिइन् ।
पूर्व मन्त्रीसमेत रहेकी अर्यालले कास्कीमा अघिल्लो पटक गुमेका पालिका र वडा पनि जित्नेगरी चुनावको तयारी गर्न आग्रह गरिन् । अघिल्लो स्थानिय तहको चुनावमा कास्कीको अन्नपूर्ण गाउँपालिका गुमेको प्रसंग निकाल्दै उनले भनिन्, ‘हिजो अन्नपूर्ण गाउँपालिकामा हारियो । तर यसपटक अन्नपूर्ण गाउँपालिका हार्ने छुट छैन । कास्कीका पाँच वटा पालिमा पाँचमा पाँच नै जित्नुपर्छ । महानगरपालिकाका सबै वडा जित्नुपर्छ ।’
यसअघिको निर्वाचनमा देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकाका ३३ वडामध्ये २२ वटामा एमालेले जितेको थियो भने ११ वटामा कांग्रेसले जितेको थियो । अहिले ती बाँकी ११ वटा वडा पनि जित्नुपर्ने उनको भनाइ छ । उनले जित्नका लागि के के गर्नुपर्ने हो त्यो सबै गर्नपनि निर्देशन दिईन् । ‘यो ठाउँमा जित्न जे गर्नुपर्छ त्यही गर्नुस्’, उनले भनिन् ।
नेतृ अर्यालले कास्कीलाई प्रतिपक्षीविहीन बनाउन सकिने सुनाइन् । त्यसका लागि पार्टीभन्दा बाहिर रहेकालाई पार्टीमा आबद्ध गर्नुपर्ने उनको भनाइ छ । यस पटक पार्टी एकता वा गठबन्धन कोहीसँग पनि नहुने प्रष्ट गर्दै उनले थपिन्, ‘कोहीसँग एकता वा गठबन्धन हुँदैन । पार्टी बाहिर रहेर छिरलिएकाहरुलाई पार्टी प्रवेश गराउनुस् ।’






