तीर्थ गुरुङलाई गौरी तमू लेखनवृत्ति पुरस्कार

यस वर्षको ‘गौरी तमू लेखनवृत्ति पुरस्कार आख्यानकार तीर्थ गुरुङलाई प्रदान गरिने भएको छ ।

कास्कीको मादी गाउँपालिका १, सिक्लेस घर भएका गुरुङलाई मञ्चको ५ औं स्थापना दिवसको दिन चैत २१ गते पोखरामा आयोजना गरिने औपचारिक कार्यक्रममा पुरस्कृत गरिने भएको हो । पुरस्कारको राशी ३५ हजार ५ सय ५५ रुपैयाँ छ । यस पुरस्कारका लागि मञ्चका अध्यक्ष गौरी तमूले ४ वर्ष अगाडि ३ लाख ५५ हजार ५ सय ५५ रुपैयाँको अक्षयकोष स्थापना गरेकी थिइन् ।

साहित्य लेखनमा लागेका गुरुङ स्रष्टाहरुलाई प्रदान गर्नेगरी स्थापना गरिएको यो गुरुङ समुदायकै पहिलो साहित्यिक पुरस्कार हो । यस पुरस्कारबाट गुरुङ समुदायको प्रतिनिधित्व गर्दै गुरुङ तथा नेपाली साहित्यमा योगदान पुर्याउने व्यक्तिलाई हरेक २ वर्षमा पुरस्कृत गरिने मञ्चले जनाएको छ ।

गौरीले २०७४ सालमा मुक्तक विधामा नेपालकै पहिलो गुरुङ ( नेपाली भाषाको द्विभाषिक मुक्तक सङ्ग्रह ुसमैं दर्बानीु प्रकाशित गरेकी थिइन्। उक्त मुक्तक सङ्ग्रह बिक्रीबाट प्राप्त रकम र कृतिलाई विभिन्न संघसंस्थाबाट प्रदान गरिएको प्राप्त सम्मान तथा नगदबाट ‘गौरी तमू लेखनवृत्ति पुरस्कार’ को अक्षयकोष स्थापना गरिएको हो ।

गुरुङ समुदायका स्रष्टालाई प्रोत्साहन दिने खालका कुनै पनि पुरस्कारहरु स्थापना नभएको अवस्थामा गुरुङ कवि, लेखकलाई थप प्रोत्साहन होस् भनी अक्षयकोष स्थापना गरिएको अध्यक्ष गौरीले बताइन् । यो पुरस्कारबाट २ वर्षअघि कवि छम गुरुङ पुरस्कृत सम्मानित भइसकेका छन् ।

गुरुङ समुदायको प्रतिनिधित्व गर्दै मूलधारको साहित्य लेखनमा सक्रिय तीर्थ गुरुङको ‘पाठशाला’ उपन्यास मदन पुरस्कारमा मनोनित भएको थियो । मदन पुरस्कारका लागि छनौटमा परेका तीर्थ गुरुङ समुदायकै पहिलो लेखक हुन् । उनको पछिल्लो कृति ‘आपा क्हार्पा’ नामक कथा संग्रह हो ।

गतबर्ष प्रकाशित ‘आपा क्हार्पा’ मूल धारको साहित्यतर्फ गुरुङ जातिको संस्कृतिलाई समेटेर लेखिएको पहिलो आख्यान हो छ ।

पुरस्कृत व्यक्ति छनौटका लागि मञ्चका सल्लाहकार एकेन्द्र गुरुङको संयोजकत्वमा सदस्यहरु सल्लाहकार भीम गुरुङ, शान्ति गुरुङ, पदेन सदस्य मञ्चका अध्यक्ष गौरी तमू, सदस्य सचिव रोशनी गुरुङ मञ्चका महासचिव रहेको ५ सदस्यीय पुरस्कार छनौट समिति गठन गरिएको थियो । समितिको बैठकले आख्यानकार तीर्थ गुरुङलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

चैत २१ गते स्थापना दिवसको अवसरमा गण्डकी प्रदेश प्रमुख माननीय पृथ्वीमान गुरुङबाट पुरस्कार प्रदान गरिनेछ । साथै बिहान ११ बजे गुरुङ चलचित्रमा मौलिकता शीर्षकमा पहिलो चरणको औपचारिक कार्यक्रमको आयोजना हुनेछ । दोस्रो चरणमा गुरुङ साहित्य र पहिचान विषयमा अन्तरक्रिया हुनेछ ।