पोखराको मेयरमा नेकपा एसबाट प्रेमको दाबी

स्थानीय तहको चुनाव वैशाख ३० गते हँुँदै छ । राजनीतिक दलहरु चुनावी तयारीमा लागिसकेका छन् भने आइतबार नै निर्वाचन आयोगले अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ ।

स्थानीय चुनावमा पोखरा महानगरमा विभिन्न पार्टीबाट नेताहरुको आकांक्षा सार्वजनिक गर्न थालेका छन् । पोखरा महानगरको मेयरमा नेकपा एकीकृत समाजवादीका नेता प्रेम थापाले आकांक्षा देखाएका छन् ।

पार्टीका महानगर उपाध्यक्ष थापाले नागरिकको अपेक्षा सम्बोधन गर्न युवाको नेतृत्व आवश्यक भएकाले आफूअघि सरेको बताए । उनले भने, ‘पोखराको समग्र विकासका लागि योजनासहित दाबेदारी गरेको हुँ । पार्टीले मौका दिए चुनाव लड्न सबै तवरले तयार छु ।’

नेकपा एसबाटै पोखरा महानगर प्रमुखमा धनराज आचार्य र श्रीनाथ बराल पनि दाबेदार छन् । सत्ता गठबन्धनबीच चुनावी तालमेल भए नेकपा एसले पोखरा महानगर आफूले पाउनुपर्ने दाबी गरिरहेको छ ।