नेपाली कांग्रेसले पोखरा महानगरले आयोजना गर्न लागेको न्यायिक सम्मेलन बहिष्कार गर्ने भएको छ । आइतबार विज्ञप्ति निकालेर पोखरा महानगरमा कांग्रेसका सचेतक रामराज लामिछानेले यस्तो जनाएका हुन् ।
चैत्र १४ गते सोमबारलाई तय भएको राष्ट्रिय स्तरको न्यायिक सम्मेलनप्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘उक्त न्यायिक सम्मेलन स्थानीय तहको चुनाव घोषणा भइसकेको अवस्थामा एकलौटी रुपमा प्रचारमुखी भएको हाम्रो ठहर छ ।’
सम्मेलनमा सम्माननीय राष्ट्रपति जस्तो मर्यादित संस्थालाई विवादमा ल्याउन खोजेको दाबी गर्दै नेपाली कांग्रेस आवद्ध कुनै पनि जनप्रतिनिधिलाई उपस्थित नहुन उनले अनुरोध गरेका छन् ।
देशभरका आधाभन्दा बढी उपप्रमुख, उपाध्यक्ष सहभागी हुने अपेक्षा गरिएको सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ ।




