स्याङ्जाका ड्राइभिङ स्कुल सञ्चालकको शनिबार भएको भेलाले जिल्लामा संघको कार्यसमिति चुनेको छ । संघ स्याङ्जाको पहिलो भेलाले भीमलाल खनालको अध्यक्षतामा सर्वसम्मत ड्राइभिङ स्कुल संघ नेपाल स्याङ्जाको ७ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो ।
उपाध्यक्षमा सूर्य भट्टराई, सचिव गोपाल अधिकारी, कोषाध्यक्ष लक्ष्मण श्रेष्ठ र सदस्यमा जिनबहादुर गुरूङ प्रकाश पाण्डे र नवीनकुमार श्रेष्ठ छन् । नवनिर्वाचित अध्यक्ष खनालले स्याङ्जाका व्यवसायीको भावनालाई समेटेर संस्थाले व्यवसायीको हितमा काम गर्ने प्रतिवद्धता जनाए ।
संघका केन्द्रीय महासचिव उमेश सिकेले राज्यको अहिलेको व्यवस्था, सेवाग्राहीको भावना र व्यवसायको अवस्था बुझेर संघले उचित नीति र योजना बनाइरहेको बताए । उनले बदलिएको परिवेश, ऐन अनुसार व्यवसाय सञ्चालन गर्न र संगठित भएर व्यवसायीको हितमा काम गर्न आग्रह गरे ।
संघका गण्डकी प्रदेश अध्यक्ष वसन्त भट्टचनले प्रस्ताव गरेको जिल्ला कार्यसमिति सर्वसम्मत बनेको हो । अध्यक्ष भट्टचनले गण्डकी प्रदेशका सबैजसो जिल्लामा संस्थाले सञ्जाल बनाइसकेको बताए ।






