घरदैलोको स्थापना दिवसमा रक्तदान र भित्तेपात्रो

पोखरा १० मा रहेको घरदैलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १०औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाइएको छ । दिवसको अवसरमा मंगलबार आयोजित रक्तदानमा ६९ युनिट रगत संकलन भएको छ ।

घरदैलोले सदस्यमुखी कार्ययोजनासहित बर्सेनी रक्तदान, डस्टबिन वितरण, स्वास्थ्य सचेतना जस्ता कार्यक्रम गर्दै आएको अध्यक्ष कमलबहादुर बस्नेतले जानकारी दिए । घरदैलोमा ६ सय ७० सेयर सदस्य छन् ।

कार्यक्रमा गण्डकी प्रदेश सांसद मानबहादुर गुरुङले नेपाल जस्ता देशमा सहकारी समृद्धि प्राप्तिका मुख्य साधक भएको बताए । नेकपा एमाले कास्की अध्यक्षसमेत रहेका गुरुङले सहकारीहरु सदस्यमुखी र उत्पादनको क्षेत्रमा जोडिनुपर्ने विचार राखे ।

पोखरा महानगर सहकारी समिति अध्यक्ष तेजनारायण अधिकारीले विभिन्न तहका सरकार मातहत सहकारी राखिएपछि केही अन्योल भए पनि अहिले सहकारीबारे ऐन, नियम बनिसकेको बताए । उनले भने, ‘अब सहकारी आन्दोलनको मर्म अनुसार उत्पादनलाई बढावा दिनु र सदस्यमुखी काम गर्नु जरुरी छ ।’

घरदैलोका अध्यक्ष बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा देवशिल्पी बचत तथा ऋण सहकारी अध्यक्ष चन्द्रकिशोर गौतम, घरदैलोका संस्थापक अध्यक्ष वीरेन्द्रबहादुर कार्की, सचिव शान्ता थापा भण्डारी लगायतले बोलेका थिए । समारोहमा नयाँ वर्ष २०७९ को भित्तेपात्रोसमेत सार्वजनिक गरिएको छ ।