नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) पोखरा महानगरपालिकाको शनिबार भएको प्रथम अधिवेशनले सूर्यप्रसाद उपाध्यायको नेतृत्वमा नयाँ कमिटी चुनेको छ ।
सर्वसम्मत भएको १८ सदस्यीय महानगर कमिटी उपाध्यक्षमा रामकृष्ण तिमिल्सिना, सचिव भेषराज अधिकारी र सहसचिव मधु तिमिल्सिना छन् । कार्यसमिति सदस्यमा दिप्चल बराल, सूर्यराज रञ्जित, दुर्गा केसी, ध्रुव छत्कुली, दुर्गा भुजेल, निरोज केसी, गममाया तिलिजा, कल्पना आचार्य, पवित्रा लामिछाने, विष्णु गिरी, चन्द्र तामाङ, रामबहादुर थापा, विजय पतानी र जीवन बराम छन् ।
कार्यक्रममा जिफन्ट राष्ट्रिय कमिटी उपाध्यक्ष तथा गण्डकी प्रदेश सभाका सदस्य मिना गुरुङले सबै राजनीतिक परिवर्तनको आन्दोलनमा उल्लेखनीय भूमिका रहेका श्रमिकलाई राज्यका निकायमा उचित अवसर दिन कन्जुस्याई गरिएको बताइन् । ‘मुल पार्टी नेकपा (एमाले)को पार्टी कमिटीमा श्रमिकलाई उचित अवसर दिनुपर्छ,’ उनले भनिन्, ‘पार्टीको घोषणापत्रमा प्रतिनिधि सभा, प्रदेश सभा तथा स्थानीय तहको निर्वाचनमा श्रमिकको १० प्रतिशत सहभागिता सहभागिता सुनिश्चित गर्ने व्यवस्थालाई कार्यान्वयन गर्नुपर्छ ।’
गुरुङले मुल पार्टी एमालेलाई बलियो बनाएर स्थानीय तहदेखि सबै निर्वाचनमा विजयी बनाउनुपर्ने उल्लेख गरिन् । उपाध्यक्ष गुरुङले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि सबै श्रमिक एकजुट हुनु पर्ने बताइन् । स्थानीय तहका श्रमिकको पञ्जीकरण तथा सूचीकरण भाषण गर्ने विषय भएको उनको भनाइ छ ।
नेकपा (एमाले) जिल्ला कमिटी कास्की उपसचिव तथा पोखरा महानगरपालिका वडा नम्बर १३ का अध्यक्ष दर्शन लामाले श्रमिकलाई संगठित गर्नेदेखि रेखदेख गर्ने संगठन जिफन्ट भएको बताए । नेकपा (एमाले) पोखरा महानगर कमिटी अध्यक्ष दिलीप न्यौपानेले पार्टी सरकारमा रहँदा योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम ल्याएकाले त्यसको सफल कार्यान्वयनका लागि पहल गर्ने जानकारी दिए । उनले स्थानीय तहको निर्वाचनका लागि महानगरको लागि घोषणापत्र तयारीको काम थालेको बताए ।
कार्यक्रममा जिफन्ट पोखरा महानगर कमिटी अध्यक्ष मेघबहादुर न्यौपाने, उपाध्यक्ष सूर्यप्रसाद उपाध्यक्ष सचिव मिलन तिमिल्सिना, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी अध्यक्ष विष्णुबहादुर केसी लगायतले बोलेका थिए ।






