गुरुङ साहित्यिक मञ्च नेपालले यही चैत २१ गते पाँचौ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । हालै भएको मञ्चको बैठकले २१ गते ३ फरक फरक कार्यक्रम गर्ने तय गरेको हो ।
मञ्चले गुरुङ साहित्य र गुरुङ चलचित्रसम्बन्धी २ अन्तक्र्रिया गर्ने छ भने त्यसपछि स्थापना दिवस मुल समारोह आयोजना हुने अध्यक्ष गौरी तमूले बताइन् ।
मुल समारोहमा ‘गौरी तमू लेखनवृद्धि पुरस्कार’ प्रदान गरिने छ । मञ्चकी अध्यक्ष गौरीले स्थापना गरेको यो पुरस्कार राशि ३५ हजार ५ सय ५५ छ । पुरस्कार सञ्चालनका लागि ३ लाख ५५ हजार ५ सय ५५ रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ ।
पुरस्कार योग्य प्रतिभा छनोटका लागि बैठकले समिति गठन गरेको छ । मञ्चका प्रमुख सल्लाहकार एकेन्द्र गुरुङ संयोजक रहेको समितिमा भीम गुरुङ र शान्ति गुरुङ सदस्य छन् ।
मञ्चका अध्यक्ष गौरी पदेन सदस्य र महासचिव रोशनी गुरुङ सदस्य सचिव छन् । प्रत्येक २ वर्षमा प्रदान गरिने यो पुरस्कार यसअघि कवि छम गुरुङले पाइसकेका छन् ।
मञ्च गुरुङ समुदायबाट प्रतिनिधित्व गर्दै गुरुङ र नेपाली साहित्यमा कलम चलाउँदै आएका स्रष्टालाई एकीकृत गर्ने र साहित्यका विभिन्न गतिविधि सञ्चालन गर्ने उद्देश्यले स्थापना भएको हो ।





