चैत ३० बाट फेवा नव वर्ष महोत्सव

होटल संघ पोखरा नेपालले १७ औं फेवा नव वर्ष महोत्सवको तयारी थालेको छ । यही चैत ३० गतेदेखि आगामी वैशाख १ गतेसम्म पोखराको लेकसाइड स्थित अम्मटदेखि हल्लनचोकसम्मको सडकमा महोत्सव हुनेछ ।

कोभिड १९ का कारण २ वर्षसम्म स्थगित महोत्सवलाई यसपटक सडकमा आयोजना गरी निरन्तरता दिन लागिएको संघले जनाएको छ । अन्नपूर्ण केबलकार प्रालि महोत्सवको प्रायोजक छ । महोत्सवमा निशुल्क प्रवेशको व्यवस्था छ ।

महोत्सवलाई सफलतापूर्वक सम्पन्न गर्न संघका अध्यक्ष लक्ष्मण सुवेदीको संयोजकत्वमा विभिन्न उपसमिति गठन गरिएका छन् । लेकसाइडका विभिन्न शाखा मार्गलाई लक्षित गरी संयोजकसमेत छनोट गरिएको छ । सो अवसरमा आयोजित कार्यक्रममा होटल संघ नेपालका केन्द्रीय सदस्य एवं संघका सल्लाहकार भरतराज पराजुली र संघका अर्का सल्लाहकार हरिप्रसाद शर्मा गैह्रेले महोत्सवलाई सफल पार्न विभिन्न सुझाव राख्दै सम्बन्धित सबै व्यवसायी एकजुट भएर सक्रियता प्रदर्शन गर्न आग्रह गरेका थिए ।

कोभिड १९ का कारण थला परेको पर्यटनलाई पुनर्जागृत गर्न महोत्सव आयोजना गर्न लागिएको संयोजक सुवेदीले जानकारी दिए । पछिल्लो क्रममा पोखरामा आन्तरिक पर्यटकको आगमनमा वृद्धि भएको, भारतीय पर्यटक आउने क्रम सुरु भएको र कतिपय तेस्रो मुलुकका पर्यटकसमेत देखिन थालेको सुवेदीले सो अवसरमा सुनाए । आर्थिक गतिविधि चलायमान बनाउँदै आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धन गर्न महोत्सवले सघाउने विश्वास सुवेदीले व्यक्त गरे । अंग्रेजी नयाँ वर्ष जस्तै नेपाली नयाँ बर्षलाई पनि भव्यताका साथ मनाउँदै खाना, संस्कृति र संगीतको पक्षलाई महोत्सवले मुख्यगरी जोड दिनेछ ।

विभिन्न उपसमिति गठनसँगै महोत्सवलाई आकर्षक र नयाँ ढंगले सम्पन्न गर्न तयारी अगाडि बढिसकेको संघका महासचिव एवं महोत्सव प्रचार समिति संयोजक राजेन्द्र ढकालले जानकारी दिए ।

रेवान पोखरासँगको समन्वयमा संघले सडकमा देश, विदेशका खानाहरुको स्वाद चाख्ने व्यवस्था मिलाएको छ । अम्मट र सेन्टरप्वाइन्ट लगायतका क्षेत्रमा आकर्षक स्टेज निर्माण गरी दोहोरी तथा गीत संंगीतका कार्यक्रम, पप कन्सर्ट, नाचगान र अन्य मनोरञ्जनात्मक प्रस्तुतिलाई समेट्ने योजना संघले बनाएको छ । ख्यातिप्राप्त कलाकारको प्रस्तुति पनि सो अवसरमा रहनेछ । महोत्सव उद्घाटनअघि ड्यामसाइड र खहरेबाट झाँकीसहितको ¥याली निकालिनेछ ।