रोटरी लेकसाइडले निःशुल्क मिर्गौला परीक्षण गर्ने

रोटरी क्लब अफ पोखरा लेकसाइडको आयोजनामा पोखरामा निःशुल्क मिर्गौला परीक्षण हुने भएको छ ।

विश्व मिर्गौला दिवसको अवसरमा क्लबले पोखराको मुस्ताङचोकस्थित किड्नी केयर सेन्टर निर्माणस्थलमा फागुन २६ गते बिहीबार बिहान ८ बजेदेखि निःशुल्क मिर्गौला परीक्षण कार्यक्रम गर्न लागेको हो । क्लबका सर्भिस चेयर एवं किड्नी केयर सेन्टरका संयोजक कृष्ण थापाले क्लबको नियमित स्वास्थ्य शिविर अन्तर्गत यस वर्ष सो कार्यक्रम गर्न लागिएको जानकारी दिए ।
पछिल्लो समय मिर्गौला रोगीको लागि उपचार विधि निकै महँगो हुने भएकोले यसमा सचेतना जरुरी छ । सोको लागि सर्वसाधारणको हितका लागि सो कार्यक्रम गर्न लागिएको उनले बताए ।

कार्यक्रममा वरिष्ठ फिजिसियन डा. बद्री पौडेल, मिर्गौला विशेषज्ञ डा. क्लारा लगायतको स्वास्थ्यकर्मीको टिमले परीक्षण गरिने क्लब अध्यक्ष हुम आलेले बताए ।

५ वर्षअघि स्थापना भएको रोटरी लेकसाइडले रोटरी किड्नी केयर निर्माणको लागि हालसम्म ३५ लाख बराबरको प्रारम्भिक पूर्वाधार निर्माण गरिसकेको छ । कुल ६ करोड लागतमा निर्माण किड्नी केयर सेन्टरको डिपिआर तयारी हुँदै गरेको सेन्टरका सचिव मीन गुरुङले जानकारी दिए । ३ रोपनी ४ आना जग्गामा १ वर्षभित्र बन्ने सो सेन्टरमा पहिलो चरणमा २० वटा डायलोसिस मेसिन जडान गरी सेवा दिइने किड्नी केयर सेन्टरका संयोजक कृष्ण थापाले जानकारी दिए ।