सांसद थापाले सार्वजनिक गरे ४ वर्षको प्रगति विवरण

कास्की निर्वाचन क्षेत्र नम्बर २(१) का सांसद कृष्ण थापाले पछिल्ला ४ वर्षसम्मको प्रगति विवरण सार्वजनिक गरेका छन् । शनिबार आयोजित कार्यक्रममा उनले प्रगति विवरण सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा गण्डकीका उपसभामुख सृजना शर्माले निर्वाचन क्षेत्रमा विकास, निर्माणको गति तीव्र देखिएको बताइन् । उनले यो गतिलाई बनाएर जनताका आकांक्षा सम्बोधन गर्न आग्रह गरिन् ।


प्रदेशसभा सदस्य थापाले आफू निर्वाचित क्षेत्रमा गरेका गतिविधि जनताले जान्न पाउनुपर्ने बनाए । उनले अरु निर्वाचन क्षेत्रभन्दा कास्की २(१) विकास, निर्माणको क्षेत्रमा अघि र अब्बल रहेको दाबी गरे ।

पोखरा महानगरपालिका अन्तर्गत ५ वडा समेटिएको सो निर्वाचन क्षेत्रमा प्रदेश तर्फमा प्रत्यक्षतर्फ कृष्ण थापा र समानुपातिकबाट प्रतिनिधित्व गर्ने उपसभामुख सिर्जना शर्मा छन् । ४ वर्षको अवधिमा कास्की स्याङ्जा जोड्ने वैकल्पिक सडक, सुरौदी सातसय सिँचाइ कुलो, विरौटा पुडीटार सडक स्तरोन्नति, स्याङ्जा फेवाताल छेउ तारबारसहित फुटट्रयाक, मुस्ताङचोक सहिदचोक विरौटा सडक, डेमसाइड पार्कमा भैतिक निर्माण लगायतका काम भएको थापाले जानकारी दिए ।

निर्वाचन क्षेत्रका सबै क्षेत्र वर्ग र समुदाय समेट्ने गरी योजना छनोट गरिएको दाबी गर्दै उनले ती योजना गुणस्तरीय एवं तोकिएको समयमा सम्पन्न हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा जिल्ला समन्वय समिति कास्की सभापति बैनबहादुर क्षेत्री, एनजिओ फेडेरेसनका केन्द्रीय अध्यक्ष रामप्रसाद सुवेदी, वडा नम्बर ७ का वडाध्यक्ष रामचन्द्र बराल र थापाका स्वकीय सचिव महेन्द्र उपाध्याय (मन्नु) ले बोलेका थिए ।