आगामी स्थानीय तहको निर्वाचनमा महिलाले ५० प्रतिशत पदमा दाबी गर्नुपर्ने सरोकारवालाले बताएका छन् । उनीहरुले उपप्रमुख वा उपाध्यक्ष पदमात्र नभनी मुख्य पदमा प्रतिस्पर्धी बन्नुपर्ने धारणा राखे ।
नारी जागरण अभियान गण्डकी प्रदेशले बागलुङ नगरपालिकाको सहकार्यमा शुक्रबार बागलुङमा आयोजना गरेको कार्यक्रमका सहभागीले महिलालाई हराउन पुरुषसमेत उम्मेदवार बन्ने गरेको आरोप लगाए । कानुनले दिएको पदमा पनि गठबन्धन वा दुई दलको फरकफरक उम्मेदवार भन्ने नाम पारेर महिला हराउने काम भएको उनीहरुले बताए ।
‘सम्झौतामा होइन, नारीलाई सम्मान गरौँ, विभेदको अन्त्य गर्दै समृद्ध समाज निर्माणमा जुटौँ भन्ने नाराका साथ आयोजित कार्यक्रममा सहभागीले आर्थिक सामाजिक र राजनीतिकरुपमा सशक्तीकरण गर्ने कार्यक्रम चाहिएको औंल्याए । गण्डकी प्रदेशकी उपसभामुख सिर्जना शर्माले महिलालाई दोस्रो दर्जाका नागरिकका रुपमा लिइएको बताइन् । ‘हामी दोस्रो दर्जाका नागरिक होइनौँ, हामी पुरुषसरह काम गर्नसक्ने र पहिलो दर्जाकै नागरिक हौं’, उनले भनिन्, ‘महिला आन्दोलन अब नेतृत्वमा स्थापित हुनका लागि अगाडि बढ्नुपर्छ ।’
उनले यसअघि भएका समावेशीका नारा र मुद्दाले सदस्यमा ३३ प्रतिशत पु¥याउनमात्रै भएकोसमेत जनाइन् । उपप्रमुख शर्माले देशभरका जनप्रतिनिधिमा महिलाको उपस्थिति २० प्रतिशत पनि नभएको उल्लेख गरिन् । न्याय क्षेत्रमा महिलाको उपस्थिति शून्य जस्तै रहेको भन्दै कानुनले अनिवार्य भनेको उपप्रमुखमा समेत पुरुष आएर महिला पछि परेको उनको गुनासो ।
नारी जागरण अभियानले स्थानीय निर्वाचन लक्षित गरी नेतृत्वमा महिला अभियान आरम्भ गरेको अध्यक्ष अञ्जु केसीले बताइन् । नेतृत्वमा महिलाको सम्मानजनक उपस्थिति सुनिश्चित नभएसम्म यो अभियान निरन्तर रहने उनको भनाइ छ । केसीले भनिन्, ‘आधा आकास भन्ने चौथाइ पनि स्थान नदिने मानसिकता परिवर्तन गर्न सबै जुट्नुपर्छ ।’
कार्यक्रममा सङ्घीय सांसद मनकुमारी केसी, प्रदेश सांसद सावित्रा राना, नेपाल महिला सङ्घकी अध्यक्ष शकुन्तला शर्मा, अन्तरपार्टी महिला सञ्जालकी अध्यक्ष कुशुम बुढा, बागलुङ नगरपालिका–३ की अध्यक्ष लक्ष्मी बास्कोटा लगायतले बोलेका थिए ।
कार्यक्रममा स्वागत अभियान्ता लक्ष्मी अधिकारी र सञ्चालन अभियान्ता हरिमाया विश्वकर्माले गरेका थिए ।






