माओवादीमा महरा, देव गुरुङसहित ४ जनाको नोट अफ डिसेन्ट

माओवादीमा महरा, देव गुरुङसहित ४ जनाको नोट अफ डिसेन्ट

नेकपा माओवादी केन्द्रको बैठकमा चार नेताले लिखित असहमति जनाएका छन्। प्रमुख सचेतक देव गुरुङ, प्रवक्ता कृष्णबहादुर महरा र नेताहरू गिरिराजमणि पोखरेल तथा लिलामणि पोखरेलले एमसीसी राष्ट्रघाती भएको भन्दै लिखित असहमति पेस गरेका हुन्।

शुक्रबार सुरु भएको केन्द्री समितिको दोस्रो पूर्ण बैठकमा उनीहरुले पार्टीको निर्णय मान्ने तर, आफ्नो मत पनि सुरक्षित रहोस् भनेर लिखित असहमति राखेको बताए। ‘हामी पार्टीको निर्णय मान्छौं। तर, मत सुरक्षित रहोस् भनेर लिखित रुपमा असहमति दर्ज गराएका छौं’, बैठकपछि नेता गुरुङले भने, ‘एमसीसी रिजेक्ट हुनु पर्ने हो। यो राष्ट्रघाती सम्झौता नै हो। तर, व्याख्यात्मक घोषणा भन्दै गलत रुपमा पारित गरियो।’

उनले व्याख्यात्मक घोषणाले नेकपा माओवादी केन्द्रले भन्दै आएको जसरी संशोधन नगर्ने र यसको कुनै कानुनी अर्थ नहुने दाबी गरे। प्रतिगमन विरुद्धको संर्घषबाट सुरु भएको आन्दोलन सफल हुँदै आएको र अहिले एमसीसीको विषयमा बीचको बाटो रोजेर तत्काललाई मात्र समाधान खोजिएको उनले बताए।

एमसीसी सम्झौता गर्ने समयमै ख्याल गर्नुपर्नेमा त्यो गर्न नसकिएको र संशोधनसमेत गर्न नसकिएकाले अहिले बीचको बाटो खोज्नुपरेको अध्यक्ष दाहालले बैठकमा ब्रिफिङ गरेका थिए।

बैठकमा नेता नारायणकाजी श्रेष्ठले एमसीसी सम्झौता गलत भएको र कहाँ कहाँ राष्ट्रघात हुन्छ भनी विस्तृत रुपमा व्याख्या गरेको उनले बताए।